पोखरा, २१ वैशाख–गतवर्ष पोखरा १५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाटै वन्यजन्तुको अखेटोपहार चोेरी भयो । क्याम्पस प्रमुखले चढ्ने गाडीमा भएको औजारबाटै ताला फोडी ¥याक भित्र राखिएको विभिन्न वन्यजन्तुको छाला, हाड, अखेटोपहार चोरी भएको थियो ।
चोरी भएको १० दिनपश्चात सोही स्थान भन्दा करिब ४ सय मिटर पश्चिमतर्फको वनपाले जंगल घाटको पधेँरोमा प्लास्टिक, जुटको बोरा र ब्यागमा वेवारिसे अवस्थामा जनावरको छाला, हाड तथा अखेटोपहार फेला प¥यो । अनुसन्धान गर्दै जाँदा उक्त फेला परेको वन्यजन्तुको अखेटोपहार तथा छाला वन क्याम्पस प्रयोगशालाको भएको खुल्न आएको थियो । प्रहरीले चितुवाको छाला ४ थान, चितुवाको दाँतहरु, हाड अखेटोपहार, चित्तलको सिङ २ थान र अन्य जनावरको हाड तथा अखेटोपहारसमेत फेला पारेको थियो ।
१ हजार ३ सय ५० रोपनी क्षेत्रफलमा वन संस्थानको वन फैलिएको छ । संस्थाको मूल गेटमा सीसी टिभी क्यामरा जडानसमेत गरिएको थियो । छात्राबासमा २ सय ५० विद्यार्थीसमेत बस्ने गर्छन । यतिमात्र होइन अन्य कर्मचारीपनि बस्ने गर्छन् भने क्याम्पस आसपास हुँदै प्रहरीको घुम्ती टोलीसमेत परिचालन हुने गर्दछ । तर, पनि चोरले सहजै चोरी गरेका थिए ।
उक्त अखेटोपहार फेला परेको ३ दिनपश्चात अर्थात् माघ २३ गते साझ करिब ७ बजेको समयमा पोखरा १७ महतगौंडा नौलो घुम्ती नजिक मनोज विकलाई राजकिशोर पाण्डेले गोली प्रहार गरी घाइते बनाइ फरार भए । फरार भएको २ महिना पश्चात प्रहरीले पाण्डेलाई हुलियाको आधारमा पक्राउ ग¥यो । आफूले गोली चलाएको स्वीकार गरेका पाण्डेले नै उक्त वन्य जन्तुको अंग तथा छाला चोरेको अनुसन्धानबाट खुलेको छ ।
२७ वर्षीय विक घाइते अवस्थामै बैदाम प्रहरीमा पुगी आफूलाई गोली लागेको बताएका थिए । प्रहरीले सुरुमा घटनालाई सामान्य नै लियो । यतिमात्र होइन गोलीसमेत होइन नै भन्यो । घटना लगत्तै सुटर फरार रहे । लामो समयसम्म उनी आफ्नो घर बारा बरियापुर पुगेर बसे । त्यसपछि पोखरामै आएर मेटलमै काम गरे त्यो पनि प्रहरी चेक पोष्ट नजिकै तर प्रहरी वेखवर रहे । पोखरा १ बगर र हेमजालाई जोड्ने जौवारी नजिकै रहेको प्रहरी चेक पोस्ट नजिकै मेटलमा काम गरेका थिए ।
प्रहरीले हुलियाको आधारमा उनलाई खोजी गरेपनि सफलता मिलेको थिएन । पोखरा आएको भन्ने सूचनापश्चात पाण्डेलाई पक्राउ गर्न प्रहरीले निकै कसरत गर्नुप¥यो । उनलाई बगर प्रहरीले मेटलमै काम गरिरहेको अवस्थामा पक्राउ ग¥यो । प्रहरी बयानमा उनले आफुले बन्दुक देखाउँदा पड्केको बताए । तर, अन्य कारण भने बताएनन् । प्रहरी स्रोतका अनुसार पहिले उनले मोटरसाइकल लुट्नका लागि गोली हानेको बयान दिएपनि पछि भने बयान फेरेको बताए ।
अनुसन्धान गर्दै जाने क्रममा पाण्डेले प्रयोगशालामा राखेको वन्यजन्तुको अंग समेत चोरी गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले विकलाई गोली हानेको स्वीकार गरेको बताए । हाल पाण्डेविरुद्ध चोरी सम्बन्धी मुद्धा दर्ता भएको छ ।
अनुसन्धानकै क्रममा उनले गोली अनुसारको बन्दुक समेत बनाउन सक्ने बताएका छन् । यस्तै वन्यजन्तुको अंग तथा छाला चोरीमा अर्का एक व्यक्तिको समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । ‘वन्यजन्तु चोरीमा समेत संलग्न भएको खुल्न आएको छ । अर्का एक व्यक्ति समेत संलग्न रहेछन् उनको खोजी कार्य भइरहेको छ,’ प्रवक्ता हमालले भने । विकलाई सुट गरेका पाण्डेले बन्दुक भने तत्कालै फालेर भागेको बयान दिएका छन् । हमालका अनुसार अहिले फाइल तयार हुने काम भइरहेको छ ।





