पोखरा, २५ वैशाख– नेपालको लागि हुण्डाई मोटसको आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
पोखराको व्यावसायिक घराना लक्ष्मी हाउसले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा गण्डकीकी सामाजिक विकासमन्त्री नरदेवी पुनलाई कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसको मूल उद्देश्य आवश्यक परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।लक्ष्मी हुण्डाईले यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको छ ।लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा समेत १ करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो । ग्रुपले सन् २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन् ।





