काठमाण्डौ, २ जेठ– कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएको पाइएको चिकित्सकहरूले बताएका हुन् ।
चिकित्सकहरुले बताएअनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएका छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार हालसम्म खोप लगाएकाहरुको मृत्यु भएको छैन् ।
अस्पतालमा जति मृत्यु भएको छ कोभिडविरुद्धको खोप नलगाएका रहेको र खोप लगाएर संक्रमण भएकाहरू पनि सामान्य अवस्थामा नै ठिक भएको बताए । उनले भने, ‘खोप लगाएकालाई पनि संक्रमण भएको छ तर दुवै डोज लगाएकालाई संक्रमणको असर एकदमै कम छ उहाँहरु सामान्य अवस्थामा नै संक्रमणमुक्त हुनुभएको छ ।‘
उनले खोप उपलब्ध भए नागरिकको ज्यान बचाउन सकिने बताए। खोप लगाएका एक हप्तामै निको भएका छन् । बिना लक्षण संक्रमित भएका उनीहरू गम्भीर अवस्थामा पुग्नबाट जोगिएका छन् ।
बचेको खोप दोस्रो मात्राभन्दा पनि पहिलो मात्रा लगाएर धेरै नागरिक बचाउनुपर्ने सुझाव दिएका छन् । पहिलो डोज मात्रै खोप दिँदा पनि ९५ प्रतिशत नागरिक गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने रहेछ ।
शिक्षण अस्पताल महाराजगञ्जका कोभिड चिकित्सक डाक्टर निरज बमले पनि दोस्रो मात्रा खोप लगाएका नागरिक कोभिड संक्रमणको असर खासै नभएको बताए ।
उनले भने, ‘हाम्रो हालसम्मको अनुभवमा खोप लगाएका तर संक्रमण भएकाहरुमा संक्रमणको खासै असर देखिएको छैन उनीहरु सामान्य अवस्थामा नै ठिक हुनु भएको छ तर अहिले संक्रमणबाट गम्भीर अवस्थामा पुग्नु भएको छ उहाँहरु धेरैले खोप नलगाएका हुनुहुन्छ ।‘
यस्तै यस अघि संक्रमण भइसकेका र फेरी दोस्रो पटक संक्रमण भएकाहरुमा पनि खासै गम्भीर असर नदेखिएको उनले बताए । ‘यस अघि भदौ असोज तिर एक पटक संक्रमण भएको र फेरी अहिले पुन संक्रमण भएकाहरुमा पनि संक्रमणको खासै असर देखिएको छैन’ उनले भने ।
सरकारले स्वास्थ्यकर्मी, संचारकर्मीलाई दोस्रो डोज खोप दिइसकेको छ। त्यस्तै ६५ वर्षमाथि उमेर समूहमा पनि पहिलो मात्रा लगाइसकेको छ । त्यसैले यो समूहमा संक्रमण कम भएको र संक्रमण भएकाहरु पनि सघन उपचार कक्षमा नपुगेको चिकित्सकको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएको छ ।
–थाहाखवरबाट





