
तनहुँ, १३ असार– किसानले खेतबारीमा लगाएको मकै पाक्ने बेला भएको छ । यो लिची, आँप, कटहर जस्ता फलफूलको पनि सिजन हो । मकै र फलफूल बाँदरबाट जोगाउनलाई हम्मे परेको छ, किसानलाई । ग्रामीण बस्तीमा घरकै कौसीमा राखिएको अन्नबालीसमेत बाँदरले उछिट्याइदिन्छ । बाँदरबाट अन्नबाली र फलफूल जोगाउनलाई रुँघेर बस्नुको विकल्प छैन् । मान्छे एक्लै देखे बाँदरको हुलले आक्रमण गर्न पछाडी पर्दैन् ।
यही समस्या झेलिरहेका म्याग्दे गाउँपालिका २, उमाचोकका स्थानीयले बाँदरबाट खेतीवाली जोगाउने उपाय खोजेका छन् । त्यो हो, ‘जंगलमै फलफूलको व्यवस्था !’ बाँदरलाई आहाराको व्यवस्थापन जंगलमै भएमा गाउँ पस्दैन् भन्ने विश्वासले यहाँका स्थानीयले उमाचोक सामुदायिक वनमा फलफूलका विरुवा रोपेका छन् । सामुदायिक वनमा फलफूल रोप्न डिभिजन वन कार्यालय तनहूँले सघाएको छ ।
३ हेक्टर क्षेत्रफलमा आँप, लिची, चिउरी, बेलौती, लप्सी, जामुनो कटहर, अनार, काफल, अमलालगायतका १२ प्रजातिका फलफूल रोपेको सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले जानकारी दिए । जंगलमा रोपिएको फलफूल हुर्केर फल्न थालेपछि अहिलेको बाँदर आतंकबाट मुक्ति मिल्ने विश्वास छ ।
‘अहिले बाँदरको आतंक बढी नै छ । खेतीबारीको बाली सखाप पार्छ । नभएर घरमै पनि आएर खान्छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘दुई वर्षअघि गाउँपालिकाले बाँदर लखेट्न पाइपको बन्दुक द्याथ्यो, त्यल्लाई पनि टेरेन् । अहिले बाँदर लखेट्नलाई गुलेली प्रयोग गरिन्छ ।’ खेतीपाती जोगाउन हेरालो बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
सामुदायिक वनमा फलफूलको विरुवा रोप्नका लागि डिभिजन वन कार्यालय तनहुँको सात लाख ५० हजार रुपैयाँ लगानी हुनेछ । २० प्रतिशत लागत साझेदारी सामुदायिक वनले नै व्यहोर्ने छ । चार वर्षसम्म रोपिएको विरुवाको गोडमेल र संरक्षण सामुदायिक वनले गर्ने सम्झौता भएको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए ।
उनका अनुसार यो बाँदरको लागि मात्रै नभएर वन्यजन्तुमैत्री फलफुल खेती पनि हो । ‘जंगलमा फलफूल भएपछि कम्तीमा बाँदर भुल्छ । त्यो बेला त्यहाँबाट बाँदर धपाएर किसानले खेतीबाली जोगाउन सक्छन्’, रानाभाटले अगाडी थप्दै भने, ‘यसबाट बाँदरसंगै चितुवा नियन्त्रणमा पनि सजिलो हुन्छ । कसरी सजिलो हुन्छ भने बाँदर त चितुवाको आहारा हो । चितुवाले जंगलमै बाँदरलाई आक्रमण गर्छ, उसले त्यही आहरा बनाउँछ । त्यसपछि चितुवाले बस्ती पसेर बालबच्चा र पशुवस्तुलाई आक्रमण गर्दैन् ।’
तनहुँमा चितुवा आक्रमणको श्रृंखला डरलाग्दो छ । तीन वर्षको अवधिमा झन्डै एक दर्जनको हाराहारीमा बालबालिकालाई नरभक्षी चितुवाले आफ्नो आहारा बनाएको छ । चितुवाको बासस्थान, आहारा र खानेपानीको अभावमा मान्छेलाई आक्रमण गर्न थालेको विज्ञहरु बताउँछन् ।
उमाचोक बाहेका म्याग्देका अरु दुई सामुदायिक वनमा पनि फलफूलका विरुवा रोप्ने डिभिजन वन कार्यालयको योजना छ । म्याग्दे गाउँपालिका–५ स्थित सालडाँडा धुसेनीको ५ हेक्टर र म्याग्दे –३ को सिद्ध बतासनको ३ हेक्टरमा फलफूलका विरुवा रोप्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
म्याग्देसंगै तनहुँका १० वटै पालिकामा बाँदरको आतंक बढ्दो छ । बाँदरबाट खेतीवाली जोगाउने उपाय खोज्न स्थानीय सरकारसंग सर्वसाधारणले माग छ ।





