मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीमा ३६ प्रतिशत रोपाइँ सकियो

गण्डकीमा ३६ प्रतिशत रोपाइँ सकियो


  • संजय रेग्मी
  • असार १९ २०७८, शनिबार
म्याग्दीको मंगला गाउँपालिका–३,बरंजा आल्टामा सोमबार धान रोपाईमा ब्यस्त किसान । कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको छ । तस्वीर सौजन्य लोकेश पुन मगर

पर्वत, १९ असार– करिब मध्य असारसम्म गण्डकी प्रदेशमा धान खेती हुनेमध्येको करिब ३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका ९ जिल्लामा धान खेती हुने गरेको छ । मनाङ र मुस्ताङमा बाहेकका जिल्लामा २५ देखि ५५ प्रतिशतसम्म रोपाइँ सकिएको छ भने औसतमा करिब ३६ प्रतिशत जमिनमा रोपाइँ भएको हो । असारको सुरुमा हरेक जिल्लामा बाँझो रहेको खेतमा धान रोपाइँ हुने गरेको छ । मकै लगाइएको खेतमा भने केही ढिला गरी रोपाइँ हुने गरेको छ । लगातार बर्षा भइरहेका कारण मकै नपाक्दा मकै खेती भएको जमिनमा भने फाटफुट बाहेक रोपाइँ भएको छैन । तर, अन्य जिल्लाको तुलनामा म्याग्दी, तनहुँ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बढी रोपाइँ भएको छ ।
‘अहिलेसम्मको तथ्यांक अनुसार करिब ३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । वर्षा हुँदा साथ बाँझो रहेको ठाउँमा धमाधम रोपाइँ भयो,’ रेग्मीले भने, ‘मकै नपाकेका कारण सुरुको तुलनामा अहिले रोपाइँको स्पिड कम छ । मकै पाकेपछि फेरि धमाधम रोपाइँ हुन्छ ।’
निर्देशनालयको तथ्यांक अनुसार तनहुँमा वर्षे धानले ११ हजार २६९ हेक्टर क्षेत्रफल ओगटेकोमा ४५ प्रतिशत अर्थात् ५३ सय ४५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । तनहुँमा भानु, घिरिङ, ब्यास, म्याग्दे, भिमाद लगायतका ठाउँहरू धान उत्पादनको लागि प्रख्यात छन् ।
लमजुङमा कुल १४ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने गरेकोमा २५ प्रतिशत अर्थात् तीन हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । मध्यनेपाल, राइनास र सुन्दरबजार धान उत्पादनको लागि राम्रा ठाउँ हुन् । यस्तै पर्वतमा २० प्रतिशत रोपाईँ पूरा भएको छ ।
८ हजार ९१० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने गरिएको त्यहाँ एक हजार सात सय ८२ हेक्टरमा रोपाइँ भएको छ । पर्वतको फलेवास, पैयूँ र जलजला गाउँपालिका धान उत्पादनका राम्रा ठाउँहरु हुन् । तीन हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको म्याग्दी जिल्लमा ५० प्रतिशत अर्थात एक हजार नौ सय ३६ हेक्टर जमिनमा रोपाइँ भएको छ । म्याग्दीको बेनी, रघुगंगा, मङ्गला, धवलागिरि, मालिका लगायतका ठाउँमा राम्रो धान खेती हुने गरेको छ ।
११ हजार छ सय हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको गोरखामा त्यसको २५ प्रतिशत अर्थात् दुई हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । भुसुन्डे फाँट, ज्यादुल खोला लगायतका ठाउँमा धान बढी फल्ने गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ५५ प्रतिशत रोपाइँ भएको निमित्त निर्देशक रेग्मीले बताए । त्यहाँ २० हजार छ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिएकोमा ११ हजार तीन सय ६९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गैँडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, बुलिङटार गाउँपालिका, बिनयत्रिवेणी, कावासोती लगायतका ठाउँ धान उत्पादनमा राम्रा मानिन्छन् ।
स्याङ्जामा कुल १८ हजार एक सय २० हेक्टरमध्ये चार हजार पाँच सय ३० हेक्टर अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । पुतलीबजार, आँधिखोला, फेदीखोला, चापाकोट, वालिङ, भीरकोट लगायतका ठाउँमा राम्रो धान फल्ने गरेको निर्देशनालयमा तथ्याङ्क छ ।
गलकोट, निसीखोला, बागलुङ, ढोरपाटन, काठेखोला, जैमिनी लगायतका ठाउँमा राम्रो धान फल्ने बागलुङ जिल्लामा पाँच हजार सात सय ५० हेक्टर खेतमा धान रोपाइँ हुन्छ । त्यहाँ ५० प्रतिशत अर्थात् २८ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यस्तै कास्कीमा ३५ प्रतिशत रोपाइँ भएको छ । २६ हजार ८१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको कास्कीमा नौ हजार १ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कास्कीमा ठुली बेसी, टाकान्जा, पामे, आर्वा, लेखनाथ, अन्नपूर्ण, लाचोक, घाचोक लगायतका क्षेत्रमा राम्रो धान फल्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->