मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गल्र्यामगुर्लुम भए सिरानका ड्याम

गल्र्यामगुर्लुम भए सिरानका ड्याम

अध्ययनले हर्पन खोला र खहरे खोलाको बाँध यसै वर्षको बर्षातमा भत्कन सक्ने भएकाले बर्षात सुरू हुनुपूर्व नै मर्मत सम्भार तथा पुनस्र्थापना र सुदृढीकरण गर्न सुझाव दिएको थियो ।


  • विजय नेपाली
  • असार २५ २०७८, शुक्रबार
बाढीले भत्काएको फेवा सिरानमा पर्ने हर्पनखोला ड्याम र अनियन्त्रित बनेको खोला । तस्वीर : भानु पराजुलीको फेसबुक वालबाट ।

पोखरा, २५ असार– बर्षापछिको बाढीले फेवातालको सिरानमा रहेको हर्पनखोलामा बनाइएको सिल्टे«सन ड्याम भत्काइदिएको छ । बुधबार राति आएको बाढीसँगै हर्पनखोलाले बाटो बदल्दा पोखरा २३, ठूलाखेतको असी भन्ने खेतमा बनेका ६ वटा घर डुबानमा परेका छन् ।
‘बाढीले हर्पनखोलामा बनाइएको ड्याम भत्कियो, पहिला खेत भएको बस्तीमा प्लटिङ गरेर बनाइएका घरहरुको आँगनमै बाढी आएको छ’, पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले भने,‘त्यो ड्यामबाट बालुवा निकाल्ने गरी महानगरले ठेक्का लगाएको थियो, बालुवा निकालिरहेका पनि छन् । बनाउँदा नै कच्ची भएकाले भत्किएको हो ।’
पराजुलीका अनुसार हर्पन खोलाले धार परिवर्तन गरेको छ भने बासिन्दाहरुले घर छाडेका छन् ।गएरातिकै बाढीले रोपिसकेको १ सय ५० रोपनी बढी खेतसमेत बगाइदिएको उनले बताए । यसअघि पनि हर्पन खोलामा आएको बाढीले सिल्टेसन ड्यामलाई क्षति पु¥याएको पराजुलीले बताए । त्यतिबेला खोलाको धार घरतिर सोझिएपछि डोजर लगाएर पन्छाएको भन्दै बिहीबारको बाढीमा डोजर लैजाने अवस्था नरहेको बताए ।‘अब तारजाली लगाइएन भने खोलाले घर लैजान्छ’, उनले भने, ‘रोपिसकेको खेत त कामै नलाग्ने बनाइदियो ।’
गल्ती सच्याइएन, खोलाको वेग बुझिएन
रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोलाहुँदै तालमा मिसिने गेग्रयान रोक्न पोखरा महानगर र प्रदेश सरकारको संयुक्त लगानीमा २८ करोड १६ लाख रुपैयाँ लागतमा गतवर्ष फेवातालको सिरानमा ५ वटा ड्याम बनाइएका थिए । फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४ पामेस्थित बेत्यानी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३ कै हर्पन खोला घाँटीछिनामा गरी ५ वटा ड्याम बनेका थिए ।
यीमध्ये बाढीले बगाएको हर्पन खोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण गरेको हो । महानगरका इञ्जिनियर विमल आचार्यका अनुसार बाँध बनाउन ७ करोड ८८ लाख ६२ हजार खर्च भएको थियो ।
अँधेरी खोलामा बनाइएका ड्याम पोहोर साल नै बाढीले भत्काइदिएको थियो । निर्माणको क्रममै पाँगो बालुवा प्रयोग गरी गुणस्तरहीन काम भएकाले बाँध भत्किएको वडाध्यक्ष पराजुलीले आरोप लगाए । उनका अनुसार स्थानीयहरुले निर्माणको क्रममा नै बाँध गुणस्तरहीन भएको जानकारी महानगरलाई दिएका थिए । तर, स्थानीयको गुनासो सम्बोधन भएन । खहरे खोलाको बेग र भूगोल बुझ्ने प्रयत्न गरिएन ।
अपारदर्शी सम्झौता
विज्ञ टोलीले ती ड्यामहरुमा हप्तामा १ लाख ५० हजार घनमिटर गेग्रयान जम्मा हुने र त्यहाँबाट बर्खामा हप्तैपिच्छे ढुंगा, गिट्टी, बालुवा निकाल्न सकिने प्रक्षेपण गरेको थियो । पोखरीमा जम्मा भएको ढुंगा गिट्टी, बालुवा बेचेर वार्षिक २३ करोड आम्दानी हुन्थ्यो ।
यसको मतलव परियोजना नाफामूलक थियो । लगानी करिब एक वर्षमै फिर्ता हुने । तर, ड्याम बनिसक्दा पनि त्यहाँबाट ती सामग्री निकालिएन । ड्याम भरियो । अँधेरीखोलाको ड्याम भत्किँदा पनि महानगरले ढुंगा–गिट्टी निकाल्ने काम गरेन ।
तर, यो आर्थिक वर्षको अन्त्यतिर एकाएक ती ड्यामबाट बालुवा निकाल्ने ठेक्का फेवा सिल्टे«सन प्रालि नामक निजी कम्पनीलाई २४ वर्षको लागि दिइयो । महानगरको ४९ औं कार्यपालिका बैठकबाट भएको निर्णयको चौतर्फी विरोध भयो ।
स्थानीयदेखि संरक्षणकर्मीसम्मले सम्झौता अपारदर्शी भएको आरोप लगाए । सार्वजनिक निजी साझेदारी अनुरुप निजी कम्पनीले ३८ करोड लगानी गर्ने भनिए पनि महानगरले किन लामो समयको सम्झौता ग¥यो भन्ने विवाद बाँकी नै छ । कार्यपालिका बैठकमा महानगरका मेयर मानबहादुर जिसीले सम्झौताका बुँदाहरु सच्याउने प्रतिवद्धता व्यक्त गरी स्थानीयको चित्त बुझाउने प्रयत्न पनि गरे । तर,बाँध भने खोलाले बगाइदिएको छ ।
स्थानीय शान्ति सालघारी बनका अध्यक्ष स्थानीय कलाधर भण्डारीका अनुसार सो क्षेत्रमा ६९५ झरना रहेका छन् । उनकै पालामा गरिएको एक अध्ययन अनुसार एक मिनेटमै सयौं मेट्रिक टन बालुवा आउँछ ।
गत वर्षदेखि बाँधमा थुप्रिएको ढुङ्गा, गिटी, बालुवा निकाल्न नसक्दा पनि अहिले बाँधलाई थप चाप परेको महानगरका इञ्जिनयर विमल आचार्यले बताए । ‘सिल्टेसन ड्याममा भरिएका ढुंगा, गिटी, बालुवा पनि निकाल्न सकिएन, यसले पनि बाँधलाई कमजोर बनायो,’ उनले भने ।
विज्ञको सुझाव दराजमा
नीति तथा योजना आयोग गण्डकी र पोखरा महानगरका प्राविधिक मिलेर गरेका अध्ययनले उक्त बाँध यस वर्षको बर्खामा भत्किने भन्दै मर्मत सम्भार गर्न सुझाव पनि दिएको थियो ।
आयोगका तत्कालीन सदस्य विष्णुराज बरालको संयोजकत्वमा पोखरा महानगरका वरिष्ठ इञ्जिनियर शारदामोहन काफ्ले सहितको विज्ञ टोलीले गरेको अध्ययनले हर्पन खोला र खहरे खोलाको बाँध यसै वर्षको बर्षातमा भत्कन सक्ने भएकाले बर्षात सुरू हुनुपूर्व नै मर्मत सम्भार तथा पुनस्र्थापना र सुदृढीकरण गर्न सुझाव दिएको थियो ।
यस्तै, बाढी नियन्त्रण गर्न पर्खालको उचाइ बढाउनु पर्ने, एउटा खोलाको बाढी एउटै बाँधले मात्र थाम्न नसक्ने भन्दै थप बाँध बनाउनु पर्ने सुझाव दिएको संयोजक बरालले बताए ।फेवातालको मुहान क्षेत्रका ४ वटै खोलामा बनाइएका बाँधको अध्ययन गरेर बनाएको प्रतिवेदनमा यी चारवटा बाँध मर्मत गर्न ३६ करोड ८४ लाख रुपैयाँ लाग्ने अनुमानसमेत गरिएको थियो ।
उक्त अध्ययन प्रतिवेदनले चार वटा बाँधमा २ लाख ६५ हजार घनमिटर ढुङ्गा, गिटी, बालुवा थुप्रिएको निष्कर्ष निकालेको थियो । यी ढुंगा, गिटी, बालुवा बिक्री गर्दा २० करोड ७१ लाख आम्दानी हुने र आम्दानीको कम्तिमा ५० प्रतिशत रकम बाँधको मर्मत तथा नयाँ बाँध बनाउन खर्च गर्न सुझाव दिएको थियो ।
अध्ययन प्रतिवेदन बुझेको प्रदेश सरकार र महानगरले समयमै मर्मत–सम्भार, थुप्रिएका ढुंगा, गिटी, बालुवा निकाल्न र नयाँ बाँध बनाउन तत्परता नदेखाउँदा भत्किन पुगेको अध्ययन समितिका सदस्य बताउँछन् । हर्पन खोलाको मात्र नभएर खहरे खोला र अन्य सिल्टेसन ड्याम पनि भत्किने खतरामा पुगेको पोखरा २३ का वडा अध्यक्ष पराजुलीले बताए ।
फिनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी र सरकारले सन् २००२ मा गरेको अध्यनले फेवातालमा हर्पन खोलालगायत चारवटा खोलाबाट वार्षिक १ लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, गिटी, बालुवा बगेर आउने निष्कर्ष निकालेको थियो ।
फेवातालको मुख्य स्रोत हर्पन खोला र यसका सहायक बेतिनी, लौरुक र खहरे खोलाले यसरी ल्याउने गेग्रानसहित बाढीले तीव्र गतिमा फेवाताल पुरेको भन्दै उक्त प्रतिवेदनले यस्तै अवस्था रहे आगमी ७० वर्षमा फेवाताल पुरिसक्ने बताएको थियो ।
बाढी सधैंको नियति
फेवाताल सिरानका हर्पन, अँधेरीसहितका खोलाहरुमा कास्कीकोट, नौडाँडादेखिको पानी झर्छ । हिउँदमा सुक्ने खोलाहरु बर्खामा गड्गडाउँछन् । फेवातालको सिरानका बासिन्दाहरुको लागि बाढी नौलो हैन बरु नियति हो ।
हालको पोखरा महानगरपालिका वडा नम्बर २३ र २४ मा पर्ने सो क्षेत्र हुँदै बग्ने खोलाले कहिले वारिको खेत हान्ने, कहिले पारिको धान मडार्ने गर्छ । समस्याबाट मुक्ति पाउन स्थानीयहरुले २०५२ सालतिर नै जिल्ला भू–संरक्षण कार्यालय गुहारे । पसिना बगाउने खेत संरक्षणको लागि जनश्रमदान जुटाए, तारजाली र प्राविधिक सहयोग कार्यालयबाटै भयो ।
उनीहरुले आफ्नै बलबुताले ३६५ मिटर लामो ड्याम बनाएका थिए । खहरे कसरी बहुलाउँछ गाउँलेलाई थाहा थियो । त्यसैले उनीहरुले क्रंक्रिटको ड्याम मात्र बनाएनन्, छेउमा बाँस पनि रोपका थिए । जसोतसो चलेकै थियो।साविकको गाउँ विकास समिति एकाएक महानगरपालिका भयो ।
महानगरले फेवाताल पनि संरक्षण गर्ने योजनासँगै अधेँरी खोलामा चेक ड्याम बनाउने योजना ल्यायो । गाउँलेले हुन्छ भने । तर, जब ड्याम बनाउन थालियो । गाउँलेको मनमा चिसो पस्यो । बर्खामा बहुलाउने खोलामा बनाइएको ड्याम बलियो थिएन । निर्माण गुणस्तरहीन भएको आँखैले देखेपछि उनीहरु विरोधमा उत्रिए ।
गत वर्षको बाढीमा समेत उक्त बाँध भत्कन लागेको थियो । वडाअध्यक्ष पराजुलीका अनुसार सामान्य टालटुल गरेर मर्मत गरेकाले अहिलेको बाढी थाप्न नसकेको बताए ।महानगरका इञ्जिनियर आचार्यले बाँध मर्मत गर्न स्थानीयले अवरोध गरेका कारण राम्रोसँग मर्मत हुन नसकेको बताए ।
‘बाँधमै स्थानीयको जग्गा पर्ने रहेछ, हामीलाई राम्रोसँग मर्मत गर्न दिएनन्,’ आचार्यले भने, ‘बाँधको क्षमताभन्दा ठूलो बाढी आएका कारण बाँध भत्किन गयो । ’हर्पन खोलाको उक्त बाँधभन्दा माथि अरू पनि बाँध बनाउनु पर्ने भन्दै आचार्यले एउटामात्रै बाँधले बाढी थाम्न नसक्ने बताए। गएराति भत्किएको बाँधमा पानी र माटो मात्र आइपुग्नु पर्नेमा ठूल्ठूला ढुङ्गा र मुढासमेत आएको भन्दै उनले पहिरो बोकेको बाढीको चाप धान्न नसकेर बाँध भत्केको जिकिर गरे ।
मेयरको जवाफ ः प्रकृतिसँग कसले सक्छ र ?
बाँध भत्केलगत्तै पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्रकृतिलाई कसैले जित्न नसक्ने प्रतिक्रिया दिएका छन् । गुणस्तरहीन निर्माण र विज्ञको प्रतिवेदन कार्यान्वयनमा नल्याएको महानगरको कदमको बचाउ गर्दै उनले भनेका छन्,‘यो हाम्रोे पहिलो अनुभव थियो । प्राविधिकले समेत त्यति मेसो पाएनन् । नसोचेको बाढी आयो भत्कियो ।’
उनले यसो भनिरहँदा निर्माणताका नै स्थानीयबाट दिइएको सुझाव, महानगरकै इञ्जिनियरहरुले गरेको अनुगमनको प्रतिवेदन बिर्सिए । बरु, उनले निर्माण कम्पनीको बचाउ गर्दै सबै कामको अनुगमन गर्न नसकिने बताए । ‘हामीले रिपोर्टकै आधारमा बनाएका छौ प्राविधिकले पनि यो सोच्न सकेनन्,पछि के हुन्छ भनेर,’ उनले आफ्नै प्राविधिकको कार्यदक्षतमा पनि प्रश्न उठाए ।
यस अघिसमेत ड्यामको खाल्डो छेक्न ढुंगा राखिएको भन्दै खबर गर्दा उनले गैरजवाफ दिँदै उनले भने, ‘जालीले भ्याउँदैन, त्यसैले ढुंगा राखेकोहो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->