बागलुङ/ व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा र धौलागिरि मोर्डन इन्सिच्युटको आयोजनामा संचालन हुन लागेको तीन महिने व्यवसायिक तालिमहरुको बागलुङमा बुधबार शुभारम्भ भएको छ ।
केन्द्रले संचालन गर्ने इलेक्ट्रोनिक्सतर्फ मोबाइल मर्मत, कपाल काट्ने, प्लम्बिङ र मोटरसाइकल मर्मतको तालिम शुरु भएको हो । उक्त तालिम शुभारम्भको अवसरमा केन्द्रका शाखा अधिकृत प्रकाश पौडेलले तालिमले युवालाई स्वरोजगार बनाउने बताए । उनले तालिमपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि पनि राम्रो अवसर बनेको बताए ।
केन्द्रले सबै तालिमका लागि २०÷२० जना युवा छनौट गरेको कम्प्युटर अपरेटर बिना शर्माले जानकारी दिइन् । ती सबै तालिमहरु तीन महिने हुनेछन् । तालिममा कम्तिमा ३ सय ९० घण्टा अर्थात् ७८ दिन कक्षा संचालन भएको हुनुपर्ने व्यवस्था समेत छ । केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका बिभिन्न स्थानमा पुगेर तालिम संचालन गर्दै आएको छ । यसरी तालिम लिएका युवाले देश र बिदेशमा पुगेर पनि आफ्नो सिपबाट राम्रो कमाई समेत गर्न थालेका छन् । कतिपयले सीपको बिकास गरेर विभिन्न स्थानमा प्रशिक्षकको भूमिकामा काम गर्न थालेको बताइएको छ । केन्द्रले हरेक बर्ष दुई पटकसम्म आधादर्जन शिर्षकमा तालिम संचालन गर्छ । केश श्रृंगार, कम्प्युटर लगायतका तालिम भने कार्यालयमै संचालन हुने गरेको छ ।





