काठमाडौं / रुसले युक्रेनमा भाडाका सैनिकका रूपमा लडेको आरोपमा पक्राउ गरेको ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको आग्रहपछि हबर्ड रिहा भएका हुन्।
अवकाशप्राप्त शिक्षक हबर्डलाई सन् २०२२ मा रुसले पूर्वी युक्रेनको आफ्नो कब्जामा रहेको क्षेत्रबाट पक्राउ गरेको थियो। उनी युक्रेनी सेनाका तर्फबाट लडेको आरोपमा रुसी हिरासतमा थिए। तर, उनको परिवार र अमेरिकी विदेश मन्त्रालयले उनीमाथि लगाइएका आरोपहरू झुटा भएको बताएका थिए।
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासलाई अघि बढाउने उद्देश्यले अमेरिकी विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरिरहेका बेला हबर्डको रिहाइ भएको हो।
हबर्डको रिहाइपछि विटकफले पुटिनलाई धन्यवाद दिँदै उनलाई ‘मानवीय भावना भएका नेता’का रूपमा चित्रण गरेका छन्। पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको छ। रुसभित्र विपक्षीमाथि दमन गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।
सीएनएनसँग साझा गरिएको भिडियोमा बुधबार सेन्ट पिटर्सबर्गस्थित पुल्कोभो विमानस्थलमा हबर्ड विटकफ र रुसी वार्ताकार किरिल दिमित्रिएभसँग भेट गरिरहेको देखिन्छ। भिडियोमा हबर्ड आफैँ उभिन र हिँड्न सक्ने अवस्थामा देखिएका छन्। यसअघि उनको परिवारले जेलमा रहँदा स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो।
विटकफले हबर्डलाई पुटिनले आशीर्वाद र शुभकामना पठाएको बताएका थिए। राष्ट्रपति ट्रम्पले हबर्डको रिहाइका लागि रुसलाई कुनै पनि बदलामा केही दिनु नपरेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा उनले राष्ट्रपति ट्रम्पप्रतिको सम्मानका कारण रुसले कुनै सर्त नराखी हबर्डलाई रिहा गरेको दाबी गरे।
ट्रम्पले पुटिनसँग आफूले गरेको आग्रहपछि हबर्ड रिहा भएको उल्लेख गर्दै उनी घर फर्किने क्रममा रहेको र छिट्टै परिवारसँग पुनर्मिलन हुने बताएका छन्।





