बागलुङ/बागलुङको वडिगाडका एक किसानको कुखुरा फार्ममा चितुवा पसेर क्षति पु¥याएको छ । वडिगड गाउँपालिका–७ मालारानीका दिल बहादुर थापाको बोईलर कुखुरा फार्ममा चितुवा पसेको हो ।
बुधबार राती खोरमा पसेको चितुवाले खोरमा रहेका एक सय बढी कुखुरा मारेको किसान थापाले बताए । चितुवाले ५० हजारभन्दा धेरै मुल्य पर्ने कुखुरा एक रातमा सकेको स्थानीय राजन पाईजाले जानकारी दिए ।
बिहिबार बिहान कुखुरा फार्ममा चितुवा देखेपछि थापाले ढोका लगाएर थुनेका थिए । चितुवा रहेको खबर इलाका प्रहरी कार्यालय भीमगिठेलाई पठाएपछि अहिले उक्त चितुवाको सकुशल उद्धार गरिएको छ । सव–डिभिज बन कार्यालय खर्वाङ, इलाका प्रहरी चौकी र स्थानीयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिएर बनमा छोडिएको छ ।
भिमगिठ्ठेको मालारानीदेखि ३ किलोमिटर पश्चिम पर्ने तुरतुरे सामुदायीक वनमा चितुवा छोडिएको प्रहरीले जनाएको छ । घर घरमा चितुवा पस्ने घर पालुवा जनावर तथा पंक्षी खान थालेपछि स्थानीय चिन्तित बनेका छन् ।





