बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समन्वयले गाउँको दूध बजारीकरणमा सजिलो

समन्वयले गाउँको दूध बजारीकरणमा सजिलो


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार
फाईल तस्विर

बागलुङ/ दुई वर्षअघिसम्म घरमा भएको दुध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका १, धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुईवटा दुहुना भैंसी उनका आम्दानीका स्रोत हुन् ।

दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उनको गाउँका किसानहरु उत्साहित छन् । दक्षिण बागलुङमा एउटा भनाइ छ, ‘रसिलो भैंसी खोज्न चित्रे धुल्लु जानू !’ किम्बदन्ती बनेको यो भनाइजस्तै धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैंसी पाल्छन् । वन तथा चरण क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दुध, पाडापाडी र मकै बाली हो ।
शर्मा जस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत असारको १ गते यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरदेखि पातीचौरम्म पुग्यो । असार १ गतेको बाढीपहिरोका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् ।

‘यहाँबाट एक क्यान दूध पातीचौरसम्म पु¥याइयो, असार यता बन्द छ,’ लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्ष समेत रहेका शर्माले भने, ‘अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।’ एक क्यान दुधमा ४० लिटर मात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दुध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सीधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गरे ।

जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दूग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताए । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् ।

‘हामी गुजारामुखी व्यवसायमा थियौं, अहिले दुधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘यो गाउँपालिकाका लागि खुसीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।’ स्थानीय बजारमा समेत दुधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो । सडक लगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दुध स्थानीय बजारमा बिक्री भइरहेको छ ।
किसानहरुलाई गाउँपालिकाले सहयोग गरेको छ । दुधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । ‘हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे,’ शर्माले भने, ‘रोजगारीसमेत सिर्जना हुनेगरी काम गरेका समूहलाई सघाइरहेका छौं ।’ किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधार लगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->