बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गौरवका आयोजना संचालन गर्दैछौं : वनमन्त्री थापा

गौरवका आयोजना संचालन गर्दैछौं : वनमन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार

बागलुङ/ गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दिपक थापामगरले गौरवका आयोजनामार्फत प्रदेशका महत्वपूर्ण स्थलको निर्माण र वातावरण संरक्षण थालिएको बताएका छन् ।
उनले फेवाताल संरक्षण, अन्तपूर्ण क्षेत्रको व्यवस्थापन, मुस्ताङमा कस्तुरी मृगपालन र पचहैया क्षेत्रको विकास जस्ता काम थालेको बताए । साथै उनले ढोरपाटनमा संभावित विकासको खोजीमा पनि मन्त्रालयले काम थालेको बताएका छन् ।
बागलुङको ढोरपाटन घुमेर फर्केका थापाले सोमबार पत्रकार सम्मेलनमा बोल्दै ढोरपाटन विकासको संभावना भएको स्थान हो । ‘यो क्षेत्रको विकासमा पनि कार्यक्रम बनाउँछौं ।’ नेपाल प्रेस सेन्टर नेपाल बागलुङ शाखाले सोमबार पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले वनक्षेत्रलाई व्यवस्थापन गर्न छिट्टै ऐन ल्याउने बताए । उनले अबका दिनमा ऐन नबनेर काम नरोकिने बताए । ‘संघिय ऐनमा नबाझिने र अब बन्ने ऐनले कुनैपनि काममा अप्ठ्यारो नपर्ने बनाउनुपर्छ भनेका छौं’ उनले भने, ‘ढीला भएपनि सहज निकास दिने ऐन चाहिएको हो ।’ उनले लामो समयदेखि ऐन नभएर काम रोकिएको बल्ल थाहा पाएको बताए ।
यसअघिको सरकारले पनि वनक्षेत्रको सुधारमा केही जग बसालेको भन्दै अझैपनि काम भैरहेको बताए । उनले विकास निर्माणमा वन बाधक नहुने, तर वन मास्ने गरी विकास भित्राउन नदिने बताए । ‘नेपालमा ४० प्रतिशत हाराहारी वनक्षेत्र छ, त्यो घट्ने गरी काम गर्दैनौं, संरक्षण र विकाससंगै अगाडि बढ्छ’ उनले भने, ‘दर्ता भएका निजी वनबाट साल र ओखर बाहेकका रुख र काठ निकासी गर्न छुट दिने पाइन्छ ।’
निकासी रोकिएको, आफ्नै बारीको रुख काट्न नपाएको गुनासो आएको भन्दै उनले सार्वजनिक क्षेत्रको संरक्षण गर्न खोज्दा केही अप्ठ्यारो भएको बताए । नजिकको वन कार्यालयको अनुमति र नामजाँच बिना काठ बेच्न खोजियो भने अप्ठ्यारोमा पर्ने उनले बताए ।

बागलुङको ढोरपाटन पुगेर फर्केका थापाले सालझण्डी ढोरपाटन सडक आयोजनाले भूसंरक्षण र पहिरोग्रस्त क्षेत्रको पुननिर्माण नगरेको टिप्पणी गरे । ‘केही संरक्षणका काम हामी गर्छौ, तर आयोजनाको क्षेत्रमा हामीले हेर्ने कुरा भएन, त्यसैले धेरै काम अलपत्र रहेछ’ उनले भने, ‘वातावरण संरक्षणका कार्यक्रम बनाउने र गण्डकी प्रदेशमा भूरक्षण कार्यालय थप्ने योजनामा छौं ।’ तोकिएको कर्मचारी सिलिङ नबढ्ने गरी केही कर्मचारी व्यवस्थापन गरेर कार्यालय थप्न लागेको उनले जानकारी दिए ।

अर्को प्रसंगमा ढोरपाटनमा मध्यवर्ती क्षेत्र घोषणा तत्काल हुनेमा शंका लागेको जानकारी गराए । स्थानीय जनताको सहमतिले मात्र हुने भएकोले स्थानीयकै चाहनामा भर पर्ने बताए । घाँसदाउराका लागि अप्ठ्यारो नपर्ने गरी स्थानीय विकासमा साथ दिन मध्यवर्ती घोषणा गर्ने बताए । निजी क्षेत्रका वनको व्यवस्थापनमा पनि मन्त्रालयले गृहकार्य गरेको भन्दै जनताले सास्ती नपाउने काम गर्न लागेको बताए । नेपाल प्रेस सेन्टर बागलुङका अध्यक्ष थमन थापाको अध्यक्षता, सचिव सज्जनकुमार सिंहको संचालन र पूर्व अध्यक्ष राम थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->