बागलुङ/बागलुङ नगरपालिका–४ लामाचौर, रमेटारका झण्डै एक हजार परिवारलाई खानेपानी पु¥याउने गरी सुरु भएको योजना बजेट अभावका कारण रोकिएको छ । ट्याङ्की निर्माण भएको दुई बर्ष बित्न लाग्दा समेत लिफ्टिङका लागि आवश्यक पाईप, विद्युतका संरचनाका लागि बजेट अभाव भएको हो ।
पानी जम्मा गर्न तयार पारिएका र बितरणका लागि तयार पारिएका ट्याङ्की प्रयोगबिहिन भएका छन् । आर्थिक बर्ष २०७५/०७६ बाट सुरु भएको योजना क्रमागत योजना हो । चालु आर्थिक बर्षमा यो योजनाका लागि गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर आयोजनाको बनेका पहिलो चरणका ट्याङ्कीमा पानी पु¥याउन एक करोड १५ लाख रुपैयाँ आवश्यक पर्छ ।
‘बिनियोजित रकमको काम भैसक्यो, बाँकी काम अगाडि बढाउन बजेट कुरेर बसेका छौं’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर इश्वरी प्रसाद शर्माले भने ‘पाईप, बिद्युत, मोटर लागयतका कामका लागि थप ७० लाख रुपैयाँ अपुग हुन्छ ।’ ११ करोड लागत स्टमेट गरिएको योजनामा हालसम्म १ करोड ७६ लाख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।
कालीगण्डकी किनारबाट लिफ्टीङ गरेर रमेटारमा पानी तान्ने योजना हो । सिधा उचाई २४५ मिटर माथी ६ लिटर प्रतिसेकेण्ड पानी तान्ने गरी योजनाको स्टमेट छ । ३२ एचपीको बिद्युतिय मोटरले पानी तान्ने योजना छ । पहिलो चरणमा तानेको पानीलाई थप ७५ मिटर माथी पु¥याएर उपभोक्ताको धारामा वितरण गरिने शर्माले बताए ।
कालीगण्डकी किनारमा रहेको मुहानमा दुई सय घरनमिटरको ट्याङ्की तयार भएको छ । पहिलो चरणमा पानी संकलनका लागि एक सय घनमिटरका दुई वटा ट्याङ्की र त्योभन्दा माथी एक सय घनमिटरका दुई र तीस घनमिटरको एक ट्याङ्की निर्माण सम्पन्न भएका उपभोक्ता समितिका सचिव गणेश प्रसाद शर्माले बताए ।
‘हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ, काम धेरै बाँकी छन्’ शर्माले भने ‘बजेट थोरै थोरै गर्दै आउँदा बनेका संरचना जिर्ण हुने र नयाँ संरचना नबन्ने खतरा भयो ।’ तालुक निकायमा पटक पटक आग्रह गरिएको उनले बताए । मन्त्रीलाई समेत योजनाको निरीक्षण गराई योजनाको बस्तुस्थितीको बिषयमा जानकारी गराईएको थियो । ‘बस्तीको बिकास भैरहेको लामाचौर र रमेटार क्षेत्रमा दिनदिनै पानीको आवश्यकता बढ्दै छ’ उपभोक्ता समितिका सह–सचिव श्याम प्रसाद शर्माले भने ‘आयोजना सुरु हुँदा उपभोक्तामा पलाएको आशा निराशामा परिणत हुँदैछ ।’ गाउँ छेउमा रहेका कुवा तथा पँधेरकाको पानीका भरमा रहेका उपभोक्ताले तत्काल आयोजना सम्पन्न गर्न माग गर्दै आएका छन् ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले उक्त आयोजनाको निरीक्षण गर्दै प्रदेशमा उपलव्ध स्रोत साधनको उचित प्रयोग गरेर आयोजना सम्पन्न गरिने आश्वासन दिएका थिए । खानेपानी महाशाखाका प्रमुख प्रेम प्रसाद डोटेलले प्रदेशमा न्युन बजेट भएकै कारण उपभोक्ताको आवश्यकता अनुसारको बजेट दिन नसकेको बताए ।





