बागलुङ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थी र शिक्षक अनुपात मिलाउन दरबन्दी मिलान गर्ने बताएका छन् । छिटफुट रुपमा चलेको कार्यक्रमलाई प्रभावकारी बनाएर शिक्षा क्षेत्रमा गुणस्तर विकाससमेत गर्ने बताए ।
शिक्षा बिकास तथा समन्वय इकाई बागलुङमा आयोजित अन्तरक्रियामा बोल्दै पौडेलले विद्यालयका लागि दरबन्दी मिलान र विद्यार्थीका लािग पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन गर्ने बताए ।
मंगलबार आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ मा विद्यार्थीलाई विद्यालयमै रोजगारी दिने व्यवस्था गर्न लागेको पौडेलले बताए । ‘हरेक विद्यार्थीलाई पढाइ खर्च चल्ने गरी रोजगारीको सिर्जना गरिनेछ,’ उनले भने, ‘त्यसका लािग विद्यालयमै प्राविधिक विषयको अध्ययन अध्यापन हुनेछ ।’ विद्यालयमा अन्य कर्मचारी राखेर गर्ने काम विद्यार्थीले गरेर कमाउने र पढ्ने अवसर पाउने गरी कोर्ष तथा कार्यक्रम डिजाइन गर्न लागेको उनले खुलासा गरे ।
एक निर्वाचन क्षेत्रको एक नमुना विद्यालयलाई पनि गुणस्तरीय बनाएर शिक्षा क्षेत्रको स्तर विकास गर्ने उनले बताए । इकाइ प्रमुख कुश्मराज उपाध्यायका अनुसार अहिले शिक्षा क्षेत्रमा ६० प्रतिशतमात्रै गुणस्तर कायम रहेको अनुमान छ ।
मन्त्री पौडेलले यो स्तरलाई कम्तिमा ८० देखि ८५ प्रतिशतमा लैजाने बताएका थिए । ‘भवन मात्र धेरै बनेका छन्, गुणस्तर सुधार भएको छैन भन्ने हामीले रिर्पोटिङ गरेका थियौं,’ उपाध्यायले भने, ‘अब गुणस्तरको कार्यक्रम बनाउन पहल गर्ने आश्वासन आएपछि हामीपनि खुसी भएका छौं ।’ संरचनागत परिवर्तनले बालबालिकाको पढाइमा पनि समस्या भएको उनले बताए । संरचनामा अन्योलताले लामो समयसम्म शिक्षा ऐन आउनसमेत ढिला भएको थियो ।
मंगलबारै धौलागिरि बहुमुखी क्याम्पसमा पनि आयोजित स्वागत समारोहमा शिक्षा मन्त्री पौडेलले आंगिक क्याम्पसको गुणस्तर सुधार्न पहल गर्ने बताए । ‘पछिल्लो समय सरकारी क्याम्पसमा विद्यार्थी घटेकोले बढाउने पहल पनि गर्नुपर्छ, त्यो गुणस्तरबाट सम्भव छ,’ उनले भने, ‘प्राध्यापकहरुले पनि आफ्नो म¥र्यादा राख्न शिक्षणमा ध्यान दिनुपर्ने अवस्था छ ।’ क्याम्पस राजनीतिको थलोमात्र नभई गुणस्तर सुधार गर्ने र अनुसन्धानको गन्तव्य बन्नुपर्ने उनले बताए ।
मंगलबारै प्रेस सेन्टर नेपाल, बागलुङको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पौडेलले गणतन्त्र, समावेशी, समृद्धि र उज्यालो नेपाल बनाउने अभिभारा आफ्नो दलले पूरा गर्नेसमेत बताए । उनले प्रचण्डकै नेतृत्वमा नेपालको विकास हुने र राजनीतिक गतिविधि पनि प्रचण्डकै नेतृत्वमा घुम्ने गरेको भन्दै अब आफ्नो दल पहिलो हुने बताएका थिए ।
उनले सेन्टर पनि भातृ संगठन भएकोले पहिलो बन्ने प्रयासमा लाग्नुपर्ने भन्दै सरकार प्रेस स्वतन्त्रताको पक्षमा लाग्नेसमेत बताए । देशको चुनौतीपूर्ण अवस्थालाई चिर्न माओवादीको नेतृत्व चाहिएको उनको भनाइ थियो । प्रतिगमनकारी कदमविरुद्धमा हिजो, आज र भोलिसम्म लड्ने शक्तिसमेत माओवादी भएको भन्दै त्यसका भातृ संगठनहरुपनि सशक्त बन्नुपर्ने धारणा राखे ।
प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले सम्मेलनकै अवसर पारेर पत्रकार सम्मानसमेत गरेको थियो । अग्रज र खोजी पत्रकारिता गर्नेलाई सम्मान गरेको अध्यक्ष थमन थापाले बताए । प्रेस सेन्टरले कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालसहित पुराना पत्रकारहरु बद्रीप्रसाद शर्मा, राजेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, महेन्द्र घर्ती, मुकेशचन्द्र राजभण्डारी, बेलुकाजी थापा, निर्मल श्रेष्ठ र वीरबहादुर चोखाललाई सम्मान गरेको हो ।
सम्मेलनले थम्मन थापाकै अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सज्जनकुमार सिंह, सरिता खत्री, सचिवमा अनिश खाती, सहसचिवमा योगेन्द्र विश्वकर्मा र शर्मिला रोका तथा कोषाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् ।
समितिको सदस्यमा बिमल खड्का, कुवीर विश्वकर्मा, पूर्णभद्र निउरे, रोशन थापा मगर, सविता खत्री, धनसिंह श्रीष, विमल पौडेल, धनबहादुर विक, जागेश्वर बिक,सन्तोषी कार्की र अशोक बुढाथोकी चयन भएको बताइएको छ ।





