
बागलुङ/ १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरी बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । ७० वर्षिय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौं नाचौं लाग्छ । महिलाको भेषमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ ।
गाउँभरीका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाईलो हुन्थ्यो । कात्तिके दान जसको घरमा जे छ, त्यहि दिने चलन थियो । चामल, धान कोदो लगायतका अन्न धेरै दान पाईने भएकाले बलिया युवाहरु भैलेनीमा खोजी हुन्थे । बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे ।
बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुदैनथ्यो रे उनलाई । राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ । तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै बर्ष भयो । आँफुले गाउन नाच्न नसकेनी अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ ।
न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ’ ७० न्यौपानेले भने ‘अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो ।’
बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक थिए । ५० वर्षिया पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार थिए । गाउँमा बिद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउने सम्मका कामका लागि भैली खेल्ने गरेको उनको अनुभव छ । पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको ।
‘कति हिँडियो, कति गाईयो नाचका कुरै नगरौं, भैलीको आफ्नै मौलिकता थियो’ पौडेल भन्छन् ‘आजभोली त हिन्दी र अंग्रेजी गीतमा नाचेर भैलो भन्छन् ।’ विशेष गरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकोमा पुराना पुस्ता चिन्तित छन् । भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ । तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथी प्रहार गरिरहेको छभने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ । अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन् । डेग र स्फिकरहरुमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ ।
विक्रम संवत्को १४ औं शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो । लोकसाहित्यका जानकार प्राध्यापक डा. दिनबहादुर थापा भन्छन् ‘उ बेलाको बृहत खस राज्यबाट यो प्रचलन सुरु भएको हो । त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलीले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन बठाएको कथासँग भैलो जोडिएको छ ।’
उनका अनुसार भैलोमा सोरठी गाउने चलन छ । खस राज्यमा गाईने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो । मंगोलियन समुदायले ढिलो सोरठी गाउँथे । सोरठीमा जयसिंह राजाको कथा गाईन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे । आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे । ‘ताल, नाच, लय भाव एउटै थियो मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाईन्छ’ थापाले भने ‘भैलोसँग कला संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ ।’
अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाई छ । समाजसेवाका लागि दान संकलन गर्न गाईने भैलो अहिले सिमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उनले गुनासो गरे । ‘पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन्’ थापा भन्छन् ‘मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ पु¥यायो ।’ भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ उनको ।





