बागलुङ – योजना तर्जुमा गोष्ठीमा जिल्लाका प्रशासक देख्ने बरेङका बासिन्दा अहिले आफ्नो योजना आफंै बनाउँछन् । गाउँपालिकाका समस्या मिलेर समाधान गर्छन् । विकास निर्माणमा प्रदेश र संघीय सरकारको बजेट परिचालन गर्छन् । ताराखोला र तमानखोला यस्तै छन् । यी पालिकाका प्रमुखमा युवा छन् ।
जहाँ प्रशासन र राजनीतिक नेताहरु कहिलेकाहीं भोट माग्नमात्रै पुग्थे । ‘कुन योजना पर्छ भनेर जिविसको मुख ताक्नु पथ्र्यो, अहिले आफैं योजना बनाएर लागू गर्दा छिटो र अपनत्व हुने रहेछ,’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘सानो कुरामा जनताले दुख पाउनु पर्ने बाध्यता हटेको छ ।’ अहिले गाउँपालिकामा पनि ५० करोड बढी बजेट जान्छ । आफ्नो आवश्यकता आफंै पहिचान गर्छन् ।
उनीहरुको आफ्नै प्रशासकीय भवन पनि बनेका छन् । ती भवनमा व्यवस्थित कार्यालय सञ्चालन भएको छ । शिक्षा र स्वास्थ्य शाखाले आफ्नो आवश्यकता पहिचान गरेका छन् । त्यसो त अन्य पालिकामा पनि राम्रा काम नभएका होइनन् । नगर उन्मुख क्षेत्रमा जहिले पनि नेता, प्रशासनको निरन्तर भेटघाट र आवश्यकता पूरा गर्न बजेट समेत दिने चलन थियो । तर, दूरदराजमा बसेकाले सदरमुकामको बजेट र योजना पाउन सक्थेनन् ।
अहिले आफ्नै योजनामा काम गर्न पाएर तमानखोला गाउँपालिकाबासी खुसी छन् । ‘कहिले सदरमुकाम नदेखेका बासिन्दाले अहिले घर छेवैमा विकास देख्न पाएका छन्,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘विकास उनीहरुको आवश्यकताको आधारमा हुन थालेको छ ।’ तत्कालीन जिल्ला विकास समितिले इलाकास्तरीय योजनाबाट टिपाएका दुई÷चार योजनामा पनि बजेट नपर्ने यहाँ अहिले दर्जनौं योजना सञ्चालित छन् ।
तमानखोलाले आफ्नो शैक्षिक पाठ्यक्रम बनाइसकेको छ । ताराखोलाले पनि तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिका भित्रका सडकहरु व्यवस्थित बन्दैछन् । ताराखोला र तमानखोलामा आधुनिक सभाहल बनेका छन् । राजधानीका कुनै सभाहलमा पसेको अनुभूति हुने गरी उनीहरुले ग्रामीण क्षेत्रमा आर्कषक पूर्वाधार बनाउन सक्दा सदरमुकाम र बजार केन्द्रित नगरहरु आफ्नो भवनसमेत नभएर भाडामा बस्दैछन् ।
जिल्लाका सबैजसो गाउँपालिका आफ्नो भवनमा बस्दा नगरहरु भाडाका घरमा बसिरहेका हुन् । आफ्नै भवन भएको बाग लुङ नगरले पनि कृषिको भवन ओगटेको छ । आफ्नो भवनमा कोही नबस्दा जीर्ण बन्दै गएको छ ।
कामकै कारण राजधानी वा सिंहदरबार पुगेर काम गर्न सक्ने गाउँमा कोही थिएनन् । अहिले गाउँपालिका नै उनीहरुका सिंहदरबार भएका छन् । कतिपय काम वडाबाटै हुन्छन् । पालिकाबाट नपाउने सेवा केवल नागरिकता मात्रै हो । अहिले नापी र मालपोतको सेवा पनि पालिका तहमा लैजानुपर्छ भन्ने आवाज उठिरहेको छ ।
गाउँपालिकाहरुले आफ्नो सबै वडा र बस्तीमा स्वास्थ्य चौकी खोलेका छन् । ग्रामीण बस्तीमा बर्थिङ सेन्टर बनेपछि अकालमा ज्यान जाने समस्या हटेको तमानखोला ६ का अध्यक्ष कुलबहादुर छन्त्यालले बताए । यहाँका मानिस बिरामी पर्दा लाखौं खर्चेर हेलिकोप्टरबाट पोखरा पठाउनुपथ्र्यो ।
‘सुत्केरी सेवा गाउँमा भएपछि महिलाले निकै सुख पाएका छन्,’ ढोरपाटन नगरपालिका ४, खुंगाको धिरी सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख हिरा गैरेले भनिन्, ‘यहाँ नहुने सेवा हो भने सोझै पोखरा वा पाल्पा पठाए हुन्छ ।’ पालिका र वडाको सहकार्यमा विभिन्न गैरसरकारी संस्थाले पनि स्वास्थ्य चौकीमा उपकरण दिएपछि सेवा सहज भएको उनले बताइन् ।
ताराखोला गाउँपालिकाले त तनहुँको बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकासँग मितेरी साइनो गाँसेको छ । यो साइनोले विकासमा झनै सहयोग पुगेको घर्ती बताउँछन् । ‘तीन तहबीच छलफल गरेर साझा कार्यक्रम र सहकार्यका काम भएका छन्,’ उनले भने, ‘धेरै मोडलको अनुभव र प्रयोग गर्न पाएका छौं ।’ गाउँपालिकाकै सहयोगमा विद्यालयहरुमा कम्प्युटर शिक्षा लागू भएका छन् ।
जिल्ला शिक्षाले मात्र हेर्दा तोकिएका एक÷दुई विद्यालयमा मात्रै सहयोग पुग्थ्यो । नगरपालिकाले गर्न नसकेका कतिपय काम गाउँमा भएकोले स्थानीय हर्षित छन् । ‘सदरमुकाममा औद्योगिक ग्राम छैन, हामीले बनाउन सकियो,’ ताराखोला गाउँपालिका-१ का अध्यक्ष यामबहादुर घर्तीले भने, ‘अब युवा रोजगार र उत्पादन बढाउने कामपनि गर्छौ ।’ संघीयता र गाउँपालिका बनेपछि गाउँको पनि विकास हुने रहेछ भन्ने जनताले बुझेका छन् ।’





