बागलुङ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिँदा इन्द्रलाल सापकोटा सानै थिए । पञ्चायती व्यवस्थामा कम्युनिष्ट भएर संगठन गर्नु र संगठनका कार्यक्रममा सहभागि हुनु राज्य व्यवस्थाको विरुद्धमा थियो । तर, उनमा कम्युनिष्ट विचारले जरो गाड्यो ।
२०४२ सालमा उनी अनेरास्ववियुको सदस्य बने अनि राजनीतिमा होमिए । २०४४ सालमा जिल्ला कमिटि सदस्य बनेका इन्द्रलालले त्यही समयमा राजद्रोहको मुद्दा भोगे । त्यतिबेला हिरासत मुक्त हुनका लागि बुझाएको ११ हजार धरौटीको अहिले पनि झल्झली याद आउँछ, उनलाई । उनको विद्यार्थी राजनीति लामो समय चलेन । यौवन चढ्दै जाँदा उनलाई युवा हुन मन लाग्यो । पार्टीको कमिटिमै रहेर काम गर्ने इच्छा जाग्यो । २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका उनलाई परिवर्तन पछिको व्यवस्थाले सघायो र त उनी २०४७ सालमा नेकपा एमाले मालिका गाउँ कमिटिको सचिव भए । उनको जीवनकालमा राजनीतिका सफलताले साथ दियो ।
२०५१ सालमा युवा संघ जिल्लाको अध्यक्ष भएका सापकोटा २०५४ सालमा केन्द्रीय सदस्य भए । केही बर्ष केन्द्रिय कमिटिमा बसेर काम गरेका सापकोटालाई युवा संघको पदाधिकारी हुने हुटहुटी थियो । २०६२ सालमा सापकोटा युवा संघको केन्द्रीय महासचिव भए । त्यतिबेला युवा संघ निकै लोकप्रिय संगठन थियो । महासचिव भएका सापकोटा त्यसपछिको महाधिवेशनमा स्वभाविक अध्यक्षका उम्मेदवार भए । तर, महेश बस्नेतसँग चुनाव लड्दा उनलाई राजनीतिमा पहिलोपटक धक्का लाग्यो तर हार खाएनन् । नेकपा एमालेको जिल्ला कमिटि सचिव (त्यो समयको कार्यकारी प्रमुख) हुने बेला सापकोटाले युवासंघको महासचिव हुनकै लागि पार्टी छोडेका थिए । युवा संघबाट व्याक भएपछि सापकोटा पुनः सक्रिय राजनीतिमा लागे । २०७३ मा सम्पन्न एमालेको आठौं जिल्ला अधिवेशनले सापाकोटालाई पुनः अध्यक्ष बनायो । त्यसयता उनी बागलुङको राजनीतिक बृत्तमा चर्चामा मात्रै रहे ।
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एमालेको रस्साकस्सी हुने बागलुङको राजनीतिमा आफ्नो पार्टी स्थापित गराउने कुरा चुनौतीको कुरा हो । सापकोटा जिल्ला अधिवेशनबाट निर्वाचित भएको छोटो समयमै भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार स्थापित बनाउन लागे । केही पालिकामा प्रमुखसहित र केही पालिकामा प्रतिनिधित्व हुनेगरी एमालेका उम्मेदवारलाई निर्वाचन जिताउनु उनको राजनीतिक कुशलता झल्काउने काम थियो । नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुनेगरी चुनावी गठबन्धन तथा राजमोसँगको गठबन्धनपछि भएको संघीय र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि उनले नेतृत्व लिएर चुवान हाँके । बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र सबैमा गठबन्धनका उम्मेदवारलाई जिताउने कौशलता उनले देखाए । आफै प्रदेशसभाको सदस्य बनेका सापकोटा प्रदेशसभामा प्रष्ट वक्ताका रुपमा चिनिन्छन् ।
दुई पार्टीको एकतापश्चात नेकपाको जिल्ला संयोजक भएका उनले नेकपामा आएको विभाजनपछि पनि आफ्नै राजनीतिक कौशल कायम राखे । विभाजनको समयमा दुवै पक्षबाट आएका लाभका पद सापकोटाले लिएनन् । नेकपा विभाजन पूर्व माधव नेपाल र प्रचण्डको खेमामा देखिएका सापकोटाले संघीयताको मर्ममा टेकेर प्रदेशमा भने पृथ्वीसुब्बा गुरुङलाई सघाए । त्यतीबेला सापकोटा गण्डकीमा माधव नेपाल लाईनका एकमात्र प्रदेशसभा सदस्य थिए । ‘पार्टीभित्र विमति हुन्छ तर पार्टी फुट्नु गलत हो’, उनले विभाजनको समयमा भनेका थिए, ‘व्यक्ति हेरेर होईन विधि बनाएर पार्टीमा बस्न सकिन्छ ।’ माधव नेपालले नयाँ पार्टी गठन गरेपछि जिल्लामा चर्चाको शिखरमा रहेका सापकोटाले व्यक्ति छोडेर पार्टी भन्दै एमालेमै रहने निधो गरे । जसको जसअपसजको भारी पृथ्वीसुब्बा हुन् भन्ने एमाले वृत्तमा चर्चा छ । यद्यपि, पृथ्वीसुब्बा उनै हुन्, जसले इन्द्रलालाई कहिल्यै मन्त्री बनाउने लिस्टमा चढाएनन् ।
सापकोटा एमालेमै रहेको चर्चा गण्डकीमा जति चल्यो त्योभन्दा अझै बढी चर्चा दशौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि चलेको छ । ‘नत अध्यक्षको नजिक रहे नत उनले समर्थन मात्रै गर्छन्, कसरी केन्द्रीय सदस्यको सूचीमा परे’, ओली निकट एक कार्यकर्ताले भने ‘यो अचम्म भयो ।’ अवस्था कस्तो भने, जिल्लाकै संघीय सांसद डाक्टर सूर्य पाठकभन्दा उनी माथि पुगेका छन् । केन्द्रीय सदस्यका आकांक्षी, दलभित्र विभाजन पूर्वको संकटमा अध्यक्ष ओलीको भक्तिगान गर्नेहरुलाई पछि पारेर सापकोटाको केन्द्रीय समितिको यात्रालाई लिएर उनी राजनीतिमा कुशल खेलाडी हुन भन्ने प्रमाणित भएको छ । कुनै चलचित्रको चर्चित पात्रजस्तै सापकोटा लामो समयदेखि एमाले बागलुङको राजनीतिमा सेलिब्रेटी बनिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो ३ महिना अन्य पार्टीका व्यक्तिलाई एमालेमा हुल्ने अभियानका महिना हुने घोषणा गरिसकेका छन् । स्पष्ट छ, अन्य पार्टीभन्दा पनि एमाले एकीकृत समाजवादीमा गएका पुराना कार्यकर्ता तान्न चाहन्छ । त्यो अभियानमा सापकोटाको ‘स्टारडम’ प्रयोग हुनेछ । सम्भवतः अबका हरेक कार्यक्रममा उनी वक्ताको रुपमा उभिनेछन् र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्ममा अर्यालसँगै दौडाहामा हिँड्ने छन् । आफूलाई प्रमाणित गर्न सके उनी अब एमालेको राजनीतिमा सायदै रोकिने छन् !





