बागलुङ – गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड रुपैयाँ संकलन भएको छ । गलकोट नगरपालिका ९, छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा सञ्चालन भएको महोत्सवबाट ३ करोड ४८ लाख रुपैयाँ संकलन भएको हो ।
मंसिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको उनले बताए ।
सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यतासँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकिर्तन, सागीतिक झाँकीसहितका साँस्कृतिक प्रस्तुतीहरु गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ । पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो ।
महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघसंस्थालाई अभिनन्दन गरिएको थियो ।
मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धा आश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्र समेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलको रुपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।
महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण टेवा पुगेको अध्यक्ष सापकोटाको भनाई छ । २०२५ माघ ७ मा प्राण प्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधी अनुसार पूजाअर्चना हुँदै आएको छ ।





