बागलुङ/ ढोरपाटनमा जाडो बढेपछि ढोरपाटनका बालबालिका चिसो छल्न बेंसी झरेका छन् । ढोरपाटनमा जाडो मौसममा हिउँपर्ने भएकोले बालबालिकाहरु बेबाङस्थित जनवादी विद्यालय र अन्य विद्यालयमा झरेका छन् ।
पशु चरन र आलु खेती गर्न ढोरपाटनमा बसेका अभिभावकसमेत विस्तारै बेंसी झरेका हुन् । उनीहरु चैत लागेपछि मात्रै ढोरपाटन उक्लने गर्छन् । अधिकांश बालबालिका र अभिभावक बेंसी झरिसकेका छन्, केही झर्ने तयारीमा छन् ।
‘मेरा परिवारका सदस्य सबै बेंसी झरिसके, अब म पनि झर्ने तयारीमा छु,’ तमानखोला गाउँपालिका २ का पूर्णबहादुर छन्त्यालले भने, ‘चिसो बढेपछि ढोरपाटनमा बस्न सकिँदैन ।’
बालबालिका बोबाङमा झरिसकेकोले ढोरपाटनस्थित जनवादी आधारभूत विद्यालय बन्द गरिएको स्थानीय अभिभावक आइते विश्वकर्माले बताए । काम विशेषले आफू गाउँमै बसेपछि बालबालिका बेंसी झरिसकेको उनले जानकारी दिए । ढोरपाटनका अधिकांश मानिसको बोबाङ, निसी र बुंगादोभानमा जग्गा तथा घर छ । खेतीपातीका लागि उनीहरु गर्मी मौसममा लेकमा जान्छन् भने चिसो बढेपछि बेंसी झर्ने गरेका हुन् ।
बालबालिका बेंसी झरेपछि ढोरपाटनको ज्ञानोदय माविमा पनि विद्यार्थी संख्या बढेको प्रधानाध्यापक यामबहादुर कायतले बताए । ‘बालबालिका पढ्न आउँछन्, नआऊ भन्न मिलेन, चिसो समयमा फर्निचर पनि पुग्दैन,’ उनले भने, ‘गर्मी लागेपछि भने उनीहरु ढोरपाटन जान्छन्, विद्यालय सुनसान जस्तै हुन्छन् ।’ माथिल्लो कक्षाका बालबालिका अभिभावक नभएपनि घरमै बस्ने भएकोले विद्यार्थी नघट्ने उनले बताए । साना बालबालिका भने अभिभावककै साथमा जाने आउने गर्छन ।
ढोरपाटनमा अधिकांश किसानले आलु खेती गर्छन् । उक्त आलु भित्राएपछि पशु चरन गर्ने र आगामी वर्ष आलु लगाउने योजनामा उनीहरुले बसाइँसराइ गरिरहन्छन् । ‘आलु उत्पादन गर्ने, बुर्तिबाङमा बेच्ने र जीवन चलाउने गरेका छौं,’ स्थानीय चन्द्रसिंह कुमाईले भने, ‘आलु नलगाए किसानलाई खानै पुग्दैन ।’
उच्च पहाडी क्षेत्र भएकोले धान खेती भने हुँदैन । ढोरपाटनका जनवादी आधारभूत विद्यालयसँगै ज्योती विकास मावि र सरस्वती प्राविमा पनि बालबालिका घटेका छन् । अत्याधिक जाडो हुँदा अस्थायी विद्यालय नभएकाले पनि बन्द गराउँछन् ।
बस्ती सुनसान भएपनि ढोरपाटन घुम्नेको संख्या भने बढेको छ । गुल्मी, पर्वत, बागलुङ, म्याग्दी तथा प्युठानबाट बढी मानिस घुम्न आउने गरेको वडा नंं ९ का सदस्य पानबहादुर विकले बताए ।
पर्यटकहरु धेरै नै आउँछन्, कतिपयले रमाइलोका लागि आउँछन् भने कतिपयले समूहको अध्ययन अवलोकन स्थल पनि ढोरपाटन बनाउने गरेका छन् । ढोरपाटनमा आउनेले यहाँका सांस्कृतिक पहिचान, लोगगीत संगीत र कला तथा संस्कृतिको पनि खोजी गर्ने गरेको होटल व्यवसायीले बताए । सामुदायिक होमस्टेमा बस्ने र होटलमा बस्ने पाहुनाले गीतसंगीतका लागि दोहोरीको व्यवस्थापन गरिदिनसमेत आग्रह गर्ने गरेको विकले बताए ।
आरक्षमा चिसो बढेपनि कर्मचारी भने नियमित बस्ने गरेको सिनियर गेम स्काउटर वीरबहादुर थापाले बताए । ‘चिसो, गर्मी भनेर स्थानीय बासिन्दाजस्तो हामी सर्न पाइँदैन, बरु यो बेला हुन सक्ने चोरी सिकारीको ध्यान दिनुपर्छ,’ थापाले भने, ‘चिसो सहेरै हामी बस्ने गरेका छौं ।’
चिसो बढेपछि फोन तथा इन्टरनेटमा समेत समस्या आउँदा सूचना सञ्चारमा कठिनाइ हुने उनले बताए । यहाँ रहेको नेपाली सेनाको गुल्म र आरक्ष कार्यालयले भने चिसो बढेपनि ढोरपाटन छाड्न पाउँदैनन् ।





