शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सिस्नो खोस्ने पर्व : पितृ र प्रकृतिको पुजा

सिस्नो खोस्ने पर्व : पितृ र प्रकृतिको पुजा


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७८, बिहिबार
सिस्नो खोस्ने पर्वमा पूजापाठ र सँुगुरको बली दिएपछि ढयाङग्रो र झयाली पिटेर नाच्दै सहभागीहरु ।

बागलुङ/सांस्कृतिक पर्वका हिसाबले जिल्लाकै धनी गाउँपालिका मान्निछ– ताराखोला । यहाँका विविध संस्कार र सांकृतिक पर्वहरु गाउँपालिकाकै पहिचानका रुपमा छन् । गाउँपालिकाको वडा नं.२ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु पुस्तैनी पर्वका रूपमा लिन्छन् । तीन दिनसम्म हर्षबढाइँ गर्छन् । अर्गलीका कुलपूजामा अनौठो परम्परा छ, सिस्नो खोस्ने । यदि त्यसलाई झिकिदिने हो भने कुलपूजा अपुरो हुन्छ । पहिलो दिन कुल (समाज) घरमा भेला भएर गाउँलेहरु पूजापाठ गर्छन् । दोस्रो दिन सिस्नो खोस्छन्, त्यसपछि नचरीसहित पर्व सकिन्छ । ताराखोला, एउटै गाउँपालिकाभित्र यो पर्वलाई तीनपटक मनाउने प्रचलन रहेको छ ।

ताराखोला गाउँपालिका–४ र ५ मा पर्ने तारागाउँमा हरेक दुई वर्षमा यो पर्व मनाउने चलन छ भने हिल र अर्गल गाउँमा हरेक बर्ष यो पर्व मनाईन्छ । एकै प्रकृतिको पर्व भएपनि फरक–फरक समयमा मनाइने यसको महत्व फरकनै रहेको स्थानीय दिलबहादुर रोकले बताए ।

यो पर्व मगर समुदायमा लोकप्रिय छ । अधिकांश मगर समुदाय रहेको तारागाउँका स्थानीयले परापूर्वकालमा बस्ती बसाउने समयमा हतियारको रुपमा प्रयोग गरेको गोरुको सिंगमा राँगोको मुटु निकालेर चढाउने चलन छ । गोरुको सिंग हरेक १२ वर्षमा परिवर्तन गर्ने प्रचलन समेत रही आएको छ । हिलमा मनाइने सिस्नो खोस्ने पर्वको महत्व प्रकृति र देवी–देवताको पूजा गर्नु हो ।

अर्गलका स्थानीयले भने आफ्ना कुलपृत्रीलाई खुसी बनाउनका लागि यो पर्व मनाउने गरेका छन् । तारागाउँमा मगर समुदायकै पुरोहितले दुई बर्षमा एक पटक भदौ शुक्लपक्षमा दिन तोकेर यो पर्व मनाईन्छ । पर्व सुरु हुनुृपुर्व एकअर्कोको आँठो साँधमा धूप हाल्नेदेखि गाउँ सरसफाइका काम गर्नुपर्ने मान्यता रहीआएको छ । यो प्रकृया सुरु भएको तेस्रो चौथो दिनको बिहान जिउँदो राँगाको मुटु निकालेर सिंगमा चडाएपछि सोही दिनको दिउँसो सिस्नो खोस्ने प्रक्रिया सुरु हुन्छ । पोल्ने सिस्नोमा सुँगुरको साँप्रो बाँधेर युवायुवतीले खोसाखोस गर्नुपर्ने मान्यता छ ।

सिस्नोमा बाँध्ने सुँगुरको पूजा चौथो दिनको दिउसोमा हुन्छ । त्यहाँ बुढापाका र पुरोहितहरुले पूजाआजा गर्ने प्रचलन छभने सिस्नो खोस्न अबिबाहित तन्नेरीहरुको आवश्यकता पर्छ ।
तेस्रो दिन मगर समुदायको हेम्थो (मुल घर)मा पितृहरु, देवदेवता, सिमेभूमेको नाममा अन्नपात चढाउने र सबैको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पूजाअर्चना गरिनुका साथै यानीमाया गीत गाउने ढ्याङ्ग्राहरु र झ्याली बजाएर रमाईलो गर्ने परम्परा पनि रहीआएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पर्वको अन्तिम बिहानैदेखि मुल घर नजिक रहेको पाटामा विधिवत पुजा गर्ने, राँगाको बलि दिने र सामुहिक रुपमा मन्त्र जप्दै ढ्याङ्ग्रा र झ्याली बजाइने परम्परा रहेको स्थानीय ससु रोकाले जानकारी दिए ।

त्यसपश्चात दिउँसोमा बलि चडाइएको सुँगुरको सपेटो निकालेर सिस्नोमा बाँध्ने गरिन्छ । अन्तिममा अविवाहित युवाहरुले ढ्याङग्रा र झ्याली बजाउदै उक्त सपेटोसहितको सिस्नो खोस्ने प्रचलन छ । युवाहरुले बोकेको उक्त सिस्नो युवाहरु र युवतीहरु बिच ५ पटकसम्म एक आपसमा सामुहिक रुपमा घण्टौ समयसम्म खोस्ने गरिन्छ । सपेटोसहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्दछन् । जितिसकेपछि तिनै युवायुवतीहरु मिलेर सामुहिक रुपमा त्यसलाई खाने चलन छ । मगर समुदायले कहिले पितृको सम्झनामा त कहिले प्रकृतिको पुजा गरेर सिस्नो खोस्ने गरेको वडा नं ४ का अध्यक्ष जीत बहादुर खत्रीले बताए । ‘यहाँ गाउँ अनुसारको सिस्नो खोस्ने पर्व हुन्छ’, खत्रीले भने ‘वर्षमा तीनपटक एउटै नाम गरेको पर्व मनाउने चलन छ ।’ कुल देवताको पूजाका दिन मनाइने पर्व मंसिरमा र अरु दुवै खालका पर्व भदौमा हुने गरेका छन् ।

मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले मगर समुदायको कुलपूजा पुरानो संस्कृति र पद्धतिमा आधारित रहेको बताए । पन्र्धौँ शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले पर्वको चलन बसालेको सचिव घर्तीमगरले बताए ।

सोही समयमा पाल्पाको अर्गलीबाट थातथलो सरी ताराखोला–२ मा आएका मगरहरुले अर्गलमा सिस्नो खोस्ने संस्कार थालेका हुन् । दुवै गाउँका रैथानेले सिस्नो खोस्ने पर्वलाई पुर्खाले छाडेर गएको नासोको रुपमा लिन्छन् । शाखापुर्खादेखि चल्ने आएको संस्कृतिका रूपमा गर्व गर्छन् ।

कुलपूजामा बुढापाका, अविवाहित युवायुवती मिलेर बाटो सफाइ गर्ने, पूजास्थलमा धामी नाच्ने, पितृ डाक्ने, तीन महिनाअघि राखेको कोदोको जाँड चढाउने, खाने गरिन्छ । कुलथानमा साँढ, सुँगुर, बोका र भालेको बली दिने चलन रहेको कुल घरका सञ्जय रोकामगरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->