बागलुङ/ लेकाली क्षेत्रमा मासुको लागि मात्रै नभइ, भुवा निकालेर न्यायो कपडा बुन्न पनि भेडा पाल्ने गरिन्छ । बागलुङको निसी, तमान र ढोरपाटन क्षेत्रमा यो क्रम बढी नै छ । उनीहरुले पालेका भेडाबाट हरेक वर्ष भुवा कातेर काम्लो, बख्खु र न्यायो कोटहरु समेत बनाउने गरिन्छ । यसरी बनाइएका काम्लोहरु महंगो मूल्यमा बिक्रीसमेत हुने गर्छन् ।
काम्लो जाडो मौषममा न्यानोका लागि मात्र नभएर हिउँ पर्दा छल्नका लागि पनि उपयोगी हुन्छ । ‘भेडाको उनबाट बनाइने भुवा र काम्लोले हिउँ पर्दा पनि लगाएर जोगिन सकिन्छ,’ निसीखोला ५ कि गोमला बुढाले भनिन्, ‘हिउँ छल्ने काम्लो १० हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ उनले निसेल ढोरमा पालेका भेडाबाट हरेक वर्ष उन कातेर काम्लो बुन्ने गरेको बताइन् ।
ढोरपाटनमा ६० वटा भेडा पालेका चनबहादुर बुढाले पनि वर्षको दुई पटकसम्म ऊन कातेर भुवा बनाउने गरेको बताए । भेडाको मासु जत्तिकै मूल्यमा उनबाट पनि कमाइ गर्न सकेको बुढाले बताए । वर्षात्मा झरीसमेत ओत्ने र जाडोमा न्यानो हुने भएकोले धेरैले भेडाको उनबाट बनेको काम्लो मन पराउने गरेको बुढाले बताए ।
भेडाको ऊन पनि दुई थरीको हुन्छ । सेतोभन्दा कालो भुवा महंगोमा बिक्री हुने गरेको छ । कालो भुवाको काम्लो बुन्न सकेमा ५० हजार रुपैयाँ सम्ममा बिक्री गर्न सकिने उनले अनुभव सुनाए ।
निसीकै कुमबहादुर घर्तीले पनि भेडा पाल्ने र काम्लो बुनेर दैनिकी चलाउने काम गरिरहेको बताए । उनको गोठमा पनि ५० भेडा छन् । निसीखोला–५ र ६ का अधिकांस मानिसको दैनिकी गोठमै बित्ने गरेको छ । उनीहरुले रुकुम सिमानाको पातीहाल्ने, निसेलढोर र अन्य लेकली बस्तीमा लगेर भेडा चराउने गरेको अनुभव सुनाए । यहाँका कतिपय भेडा गोठाले वर्षौदेखि भेडीगोठमै बस्ने गरेका छन् । तमानखोला–४ का भीमबहादुर रोका ४० वर्षदेखि भेडीगोडमा बस्दै आएका छन् । उनीहरुले बर्षेनी भुवा बनाएर बेच्ने र साँड भने मासुका लागि बेच्ने गरेको बताए ।
पश्चिम बागलुङका किसानले निकाल्ने भुवा र काम्लोको व्यापार हुने मुख्य बजार रिडी हो । माघे सक्रान्ति सहितका मेला लाग्दा निसीका किसानले काम्लो बुनेर उक्त बजारमा लैजान्छन् । ‘अर्डर गरेकाहरुले घरमै आएर सामान लैजान्छन्’ बुढाले भनिन्, ‘घरमा थुप्रेका सामान मेला लाग्दा बेच्छौं ।’ कृषि फसलको उत्पादन कम भएकोले ती सामान बेचेर घर खर्च चलाएको उनले बताइन् ।
७५ वर्षका कर्णबहादुर बुढा मगरले पनि काम्लो बुनेर दैनिकी चलाउने गरेका छन् । यस्ता काम्लोलाई बहुउपयोगी वस्तुको रुपमा लिने गरिन्छ । पहिला पहिला नुनतेल किन्न रिडी जानुपर्ने भएकोले किसानले वर्षभरी बुनेका काम्लो, भुवासमेत बोकेर बजार पुग्थे । आजकल भने सडक बनेपछि गाउँघरमै नुुततेल पाउन थालेपछि सामान ल्याउने गाडीमै उनीहरुले पनि सामान पठाउने गरेका छन् । ‘साहुहरुसँग सम्पर्क हुन्छ, अनि उनीहरुले खरिद गरेर लैजान्छन्’ रोकाले भने, ‘बोकेर ग्राहक खोज्दै हिड्नुपर्दैन ।’ केही उत्पादन हुँदा सोझै बेच्न पाएको किसानले बताए ।
सहर बजारका घरमा सजाएर राख्नेले भने काम्लोको चाहना बढी राख्ने गरेको उद्यमीको अनुभव छ । पछिल्लो समय भेडा पाल्ने किसान पनि घटेका छन् । सडक खुल्दा रोजगारी खोज्न सहर पस्ने बढेकोले घरमा बस्नेले मात्रै काम्लो बुन्छन् । ‘भेडा पालेर महिनौ गोठमा बस्दा धेरै मेहेनत र दुःख गर्नुपर्छ’ स्थानीय हरिबहादुर बुढामगरले भने, ‘आजकलका युवाले यो काम गर्नै छाडेका छन् ।’ युवाहरु सहर क्षेत्रको रोजगारी खोज्न हिँडेपछि काम्लो उत्पादन बढाउन नसकिएको उनले बताए ।





