बागलुङ/ यसवर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार ढोरपाटन दैनिकका म्याग्दी सहकर्मी हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष पत्रकार महासंघ म्याग्दीका उपाध्यक्षसमेत रहेका गौतमलाई प्रदान गरिएको हो ।
सोमबार सहकारीको १५ औं साधारणसभाका अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गौतमलाई पुरस्कार प्रदान गरे । दश हजार राशीको पुरस्कारसहित गौतमलाई सम्मान गरिएको थियो । परोपकारी पत्रकारितामा अब्बल रहेको भन्दै गौतम पुरस्कृत भएका हुन् । निरन्तर सिर्जनशिल पत्रकारितामा सक्रिय रहने साविकको धौलागिरी अञ्चलका चार जिल्लाका पत्रकारहरुमध्ये हरेक वर्ष एकजनालाई पुरस्कृत गर्ने गरिएको संस्थापक सिर्जना पन्तले बताइन् ।
धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा, संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो ।
समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ ।
यस्तै, सहकारीले एथ्लेटिक परिवार नेपालले काठमाण्डौमा आयेजना गरेको युथ एथ्लेटिक च्याम्पियन अन्र्तगत ८०० मिटर दौडमा आदर्श सहकारीका शेयर सदस्य काठेखोला गाउँपालिका–७ रेशन निवासी रन बहादुर कार्कीका छोरा बादल कार्कीलाई सम्मान गरिएको थियो । सहकारीले कार्कीलाई नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम लगायतले बोलेका थिए ।





