बागलुङ/ महिलाहरु ‘भ्वाईस, च्वाईस र राईट’का लागि तयार नहुँदासम्म घरभित्रै र घरबाहिरबाट हुने हिंसाका घटनामा कमी नआउने सरोकारवालले बताएका छन् । हिंसा घरभित्रै र घरबाहिर दुवै ठाउँमा हुने भएपनि न्यायका लागि आवाज कम उठ्ने गरेको उनीहरुको भनाई थियो ।
सामाजिक विकास कार्यालय बागलुङले आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसा न्युनिकरणका लागि बनेका कानूनहरुको प्रयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे । ‘हिंसा सम्बन्धि कानुन आएको १२ वर्ष पुग्यो, तर खैत कार्यान्वयन, हामी आँफै पनि कार्यान्वयनका लागि तयार छैनौं’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले भने ‘हिंसाका घटनामा आवाज कम उठ्छ, अधिकार प्रत्याभुत गर्ने कुरामा कन्ज्युस्याईं हुन्छ ।’
‘पहिले–पहिले प्रहरीको मात्रै अभियान हो जस्तो लाग्थ्यो, अहिले समुदायस्तरमा अभियान पुगेको छ’ प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले भने ‘अभियानका समयमा भएका कार्यक्रमले जनचेतना विस्तारमा सहयोग गरेको छ ।’ बाल विवाह हिंसाको कारण भएपनि जिल्लामा हुने बालविवाहका घटनाको उजुरीनै नआउने गरेको उनले बताए ।
‘बाल विवाहको विकराल अवस्था छ तर उजुरी कसैले गर्दैन, चेतना विस्तार गर्नुपर्ने देखिन्छ’ महिला अधिकार कर्मी लक्ष्मि जिसीले भनिन् ‘हिंसाको सुरुवात घरबाटै हुन्छ, भैरहेको छ र दविएर बसेको छ ।’
कार्यक्रममा सहायक प्रजिअ पौडेलले हरेक दिन जिल्ला प्रसासन कार्यालयमा आउने सम्बन्ध बिच्छेदका घटनाले समाजमा व्याप्त हिंसाको चित्रण गरिरहेको बताए । ‘अभियानकै बिचमा ४० भन्दा धेरै सम्बन्ध बिच्छेद भएपछि नागरिकता संसोधन गरेका छौं’ पौडेलले भने ‘हरेक दिन एक÷दुईवटा घटना आउँछन्, यो कहालीलाग्दो अवस्था हो ।’ भूर्ण हत्या, किशोरीहरुको स्वास्थ्य सुरक्षामा बेवास्ता, प्रजनन स्वास्थ्य र गर्भपतन जस्ता घटनाहरु दिनानुदिन बढीरहेको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका थिए ।





