शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

गण्डकी प्रदेश प्रहरी अस्पतालको बिजोग : पूर्वाधार न कर्मचारी !

गण्डकी प्रदेश प्रहरी अस्पतालको बिजोग : पूर्वाधार न कर्मचारी !

बिरामी राख्नु परे सशस्त्र प्रहरी गणमा राख्नुपर्ने बाध्यता ।


  • विजय नेपाली
  • मंसिर २९ २०७८, बुधबार
  • – चारजना चिकित्सकको दरबन्दी, दुईजना मात्रै छन् ।
  • – ३१ जना प्राविधिक दरबन्दी, ११ जनामात्रै छन् ।
  • – प्रशासनिक काम एक ठाउँ, सेवा अर्कैबाट ।
  • – दुई किस्तामा बल्ल आइपुग्यो ३० लाखको एक्सरे मेसिन ।

पोखरा/ २ वर्ष अघि पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको स्थापना गरियो । गण्डकी प्रदेशमा पनि प्रहरीमा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै निशुल्क उपचार गर्ने लक्ष्यका साथ स्थापना गरेको अस्पताल सञ्चालनमा आएको भने डेढ वर्ष भएको छ । पूर्वाधारको अभाव झेलिरहेको अस्पतालले यतिबेला एक्सरे सेवा सुरु गरेको छ ।

सरकारले चालु वर्षमा बजेट नदिँदा थप सेवा दिनबाट अस्पताल चुकेको छ । यद्यपि, अस्पतालबाट दिने सेवामा भने विस्तार भइरहेको छ । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष प्रदेश प्रहरी अस्पताल निमार्णका लागि एक करोडभन्दा बढी रकम छुट्याएर काम गरेको थियो । तर, चालु आर्थिक वर्षमा रकम विनियोजन नगर्दा काम भने सुस्त गतिमा पुगेको छ । ‘प्रदेश सरकारले अघिल्लो वर्ष हामीलाई बजेट दिएको थियो । यो वर्ष दिएको छैन,’ डा. नर्मन लामिछानेले भने ।
प्रदेश सरकारको सहयोगमा बन्न लागेको ३ तले भवनबाट सेवा दिने सपना प्रहरीले बोकेको छ । उक्त अस्पताल ५० बेडसम्मको बनाउने प्रहरी अस्पतालको योजना रहेको गण्डकी प्रदेश अस्पताल कार्यालय प्रमुख प्रहरी उपरीक्षक डाक्टर नर्मन लामिछाने बताउँछन् ।

तर, बजेट नपरेपछि काम कति हुने भन्नेमा अन्योलता छाएको डा लामिछानेको धारणा छ । उक्त भवन बनेर अस्पताल सञ्चालनमा आए आम नागरिकका लागि समेत सेवा प्रदान गरिनेछ । अहिले ओपिडी सेवा र अति सामान्य अप्रेसनको सेवा दिइरहेको अस्पतालले एक्सरे समेत सञ्चालनमा ल्याउनु अस्पतालको उपलब्धि रहेको लामिछानेले बताए ।
‘हामीले आजदेखिमात्रै एक्सरे सेवा सुरु गरेका छौं, न्युनतम शुल्क लिएर सेवा सुरु गरेका हौं,’ डा. लामिछाने भने, ‘अहिले हामीले ठूलो सेवा दिन सकिरहेका छैनौं । तर ओपिडी सेवा भने दिइरहेका छौं । भवन अभावका कारण हामीले अप्रेसन गर्न सकिरहेका छैनौं ।’

अस्पतालमा हाल दैनिक जसो ३० जनाको हारहारीमा प्रहरीहरु सेवा लिन आइरहेको उनले सुनाए । दुई किस्ता गरी ३० लाख रुपैयाँमा एक्सरे मेसिन अस्पतालमा ल्याइएको हो । अस्पतालमा अप्रेसन वार्डको व्यवस्था भएमा आफूहरुले थप स्तरीय सेवा प्रदान गर्न सक्ने डा. लामिछाने बताउँछन् । लामिछानेका अनुसार अस्पतालमा ४ चिकित्सकको दरबन्दी भएपनि अहिलेलाई भने २ चिकित्सकमात्रै छन् ।
अस्पतालको नाममात्रै हो । बिरामीका लागि आकस्मिक सेवा मात्रै दिइरहेको छ मुस्ताङचोकबाट । अस्पतालको प्रशासनिक काम भने अन्तैबाट गर्नपर्छ, प्रदेश प्रहरी कार्यालयबाट । त्यतिमात्रै होइन, बिरामी भर्ना हुन प¥यो भने प्रहरीकै सशस्त्र प्रहरी गणमा राख्नुपर्ने बाध्यता छ ।

अस्पतालका लागि ३१ जनाको प्राविधिक दरबन्दी रहेपनि हाल ११ जनामात्रै रहेका छन् । अब अस्पतालले थाइराइडको समेत उपचार गर्ने डा. लामिछानेले जानकारी दिए । अस्पतालसँग हाल १ एम्बुलेन्स, १ अफिस गाडी र ३ वटा मोटरसाइकल छ । बहालवाल प्रहरीले निशुल्क उपचार पाउने उक्त अस्पतालमा पूर्व प्रहरी र उनका परिवारले भने औषधि निशुल्क पाउने सुविधा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->