बागलुङ/नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सेवा निवृत शिक्षकहरुका लागि पुस्तकालयको स्थापना गरी त्यसको व्यवस्थापन गर्ने बताएका छन् । बागलुङको बलेवामा रहेको गणेश माविको मंगलबार ४१ औं बार्षिकोत्सव मुल समारोहको उदघाट्न गर्दै मन्त्री पौडेलले निरन्तर सेवामा रहेका शिक्षकहरुको समय सेवा निवृतपश्चात कठिनाई हुने हुँदा त्यसको व्यवस्थापनका निम्ती पुस्तकालयको आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफनो गृह जिल्ला बागलुङ र बलेवा क्षेत्रको शैक्षिक क्षेत्रको विकासका सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि स्थानिय तहको महत्वपुर्ण भुमिका हुने बताए । उनले जिल्लामै उकृष्ट विद्यालयको रुपमा रहेको गणेश माविको अझै सफलताको कामना व्यक्त गरे ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगर, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य भरत पौडेल, नेपाली काँग्रेस बागलुङका सभापती जित शेरचन, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य भोजराज आचार्य, बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य योगन्द्रराज पौडेललगायतले बालेका थिए ।
बार्षिकोत्सवको अवसरमा शिक्षा क्षेत्रमा ठुलो योगदान पु¥याउएका व्यक्ति पैयुँपाटाका चुडामणी शर्मा पौडेल, अमलाचौरका ईश्वरी प्रसाद शर्मा ढकाल र नारायणस्थानका कृष्ण बहादुर खत्रीलाई सम्मान गरिएको छ । त्यसैगरी विद्यालयका शिक्षकहरु प्रदिप भण्डारी, सावित्रा शर्मा, पवित्रा पौडेल, पार्वती श्रेष्ठ र सेवा निवृत शिक्षक मोहराज शर्मा, प्रेम प्रसाद रेग्मी चुडामणी सुवेदी र छत्रनाथ शर्मालाई सम्मान गरिएको विद्यालयका प्रधानध्यापक एकनाथ रिजालले जानकारी दिए ।
विद्यालयले विभिन्न कालखण्डमा विद्यालयको भौतिक विकासका साथै भवन निर्माणका लागि संयोजक भएर जिम्मेवारी लिएका सुवेदार हरिबहादुर खत्री, कविराज बस्ने, लक्ष्मीनारायण श्रेष्ठ र स्वगेन्द्र बहादुर खत्रीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापकले विद्यालयको अर्थिक एवं प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ८ सय १५ जना विद्यार्थी अध्यनरत रहेका छन् । वार्षिकोत्सवको अवसरमा विभिन्न झाँकी र सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द आचार्यको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण प्रसाद श्रेष्ठको स्वागत र शिक्षकद्धय विमल गौतम र गोविन्द तिवारीको संचालनमा सम्पन्न भएको थियो ।





