बागलुङ/ ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५ सय रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो । त्यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ । वडा नंं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले बताए ।
उक्त जग्गा सदुपयोग गरेर आलु खेती गर्ने र किसानलाई नमुना फर्मको रुपमा देखाउने लक्ष्य घर्तीले सुनाए । ‘हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौं,’ उनले भने, ‘त्यसका लागि जग्गाको खोजीमा लागेका छौं ।’ ताराखोलाको २ हजार ३ सय मिटर उचाइमा बाख्रापालन गर्ने र व्यावसायिक बनाउने योजना पनि उनले सुनाए ।
ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ । गाउँपालिकाले समपुरक कोष र विशेष अनुदानसमेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ । यो अभियान पूरा गर्न कम्तिमा १० करोडसम्म लाग्ने अनुमान छ । पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उनले बताए ।
पालिकाले पहिलो बर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ । ताराखोलामा विशेषगरी आलु, मुला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ । साथै, मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजना अनुसार संकलन र बिक्रीको प्रबन्धमा किसानलाई नै अगुवाई गर्न लगाएको ताराखोला ४ का वडाध्यक्ष जितबहादुर खत्रीले बताए ।
अलैंची र किबी नगदेबाली पनि यहाँ व्यवसायिक रुपमा उत्पादन भइरहेका छन् । कम्तिमा १० टन अलंैची अहिले पनि उत्पादन भइरहेको स्थानीय ईन्द्र रोकाले बताए । कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ । चालु वर्ष अर्गल सिँचाइ आयोजना सुरुवात छ । वडा नं. १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ ।
उद्योगतर्फ घरेलु प्रकारका बढी छन् । जसमा ढुंगाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन् । भाँग्रो लगायतका मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउनेहरु छन् । उनीहरुलाई सूचिकृत गर्ने, बीउ पूँजी दिएर उत्पादनलाई व्यवसायिक बनाउन लगाउने योजना उनले सुनाए । ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थित रुपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिम समेत दिने योजना छ ।
हाल भाँगोलाई चटनीको रुपमा प्रयोग गरेपनि सरकारी तहबाट भने गाँजाको रुपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्ने क्रम चल्छ । तर, संसदमा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिने गरी कानुनको मस्यौदा तयार भएकोले किसान उत्साही छन् ।
‘अनुमति पाएर व्यवसायिक खेती गर्न सकेमा धेरै राम्रो हुन्छ,’ उपाध्यक्ष दिलकुमारी रोकाले भनिन्, ‘राज्यले कर लिएपनि यो व्यवसायिक र उत्पादनमुखी बन्नेछ ।’ बाँझो जमिन उपयोगमा भाँगोले पनि स्थान पाउने उनले बताए ।





