बागलुङ/भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै अंगको समान चासो र हरेक नागरिकमा सुशासनको अभ्यास चाहिने सरोकारवालाले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बागलुङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी छलफल तथा अन्तरक्रियामा सहभागीले उक्त धारणा राखेका हुन् । मंगलबार आयोगले बागलुङका सबै पालिका, सरकारी कार्यालय र सरोकारवाला निकायसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको थियो ।
कार्यक्रममा आयोगका आयुक्त किशोरकुमार सिलवालले जसले भ्रष्टाचारजन्य कसुर गरेको हो उसैलाई कारवाही गर्ने पद्दती विकास गर्न लागेको बताए । उनले प्राविधिकले गरेको त्रुटिमा कार्यालय प्रमुखसम्म पुग्नभन्दा कामको थालनीमै सुशासन कायम गर्ने बानी बसाल्न लागेको बताए ।
आयोगले दोषीलाई मात्र कारवाहीको दायरामा ल्याएमा अन्यलाई काम गर्ने हौसला मिल्ने, तथा आयोगको अनुसन्धानले सरकारी कामकाज पनि ठप्प नहुने अबस्था आउने पनि बताए । आयोगलाई मात्र जिम्मा दिएर भ्रष्टाचार नियन्त्रण नहुने भन्दै उनले राज्यका सबै अंग र क्षेत्रले सुशासन कायम गर्न भूमिका खेल्नुपर्ने बताए । ‘हरेक नागरिक सभ्य र सुशासन चाहने बन्न सक्दा भ्रष्टाचार गर्न खोज्नेहरु आँफै पछि हट्छन्,’ उनले भने, ‘कुन कसुरमा को पीडित छ भन्ने घटनाले पनि भ्रष्टाचारको प्रकृति ठूलो सानो हुनेगर्छ ।’
कार्यक्रममा आयोगका सहसचिव राजेन्द्रकुमार रेग्मीले आयोगले सुक्ष्म अध्ययन गरेर धेरै बिषय पत्ता लगाएको भन्दै केही बिषय संचारमाध्यमले पनि साथ दिएको बताए । ‘संचार माध्यममा आएका र आयोगले सुक्ष्म अध्ययन गरेका घटनाबाट धेरै बिषय बाहिर आउन थालेका छन्’ उनले भने, ‘आम नागरिक सचेत बनेमा अझै धेरै बिषय बाहिर आउने र निवारणमा साथ मिल्नेछ ।’
यस्तै, आयोगको पोखरा कार्यालयका प्रमुख कोषहरि निरौलाले बागलुङसहित गण्डकी प्रदेशका १० वटै जिल्लाको मुद्दाको संख्याबारे जानकारी गराए । उनले चालु बर्ष सबैभन्दा धेरै कास्कीमा ८८ वटा मुद्दा परेको जानकारी गराए ।
त्यस्तै, स्याङजामा २६, बागलुङमा २०, पर्वतमा १८, गोरखमा २३, र तनहुँमा २४ मुद्दा परेका छन् । त्यस्तै म्याग्दीमा ११, लमजुङमा ८, मुस्ताङमा ४ वटा मुद्दा परेका छन् । मनाङमा गत वर्ष ४ मुद्दा परेपनि चालु वर्ष अहिलेसम्म मुद्दा नपरेको हो ।
आयोगको पोखरा कार्यालयमार्फत गत बर्षका बाँकी र चालु बर्ष समेतका गरी ४ सय १६ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको बताइएको छ । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्ला प्रशासनले हेर्नुपर्ने घटनामा पनि सक्रियता पूर्वक काम गर्ने प्रतिवद्धता जनाए ।
उक्त अवसरमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख कुश्मराज उपाध्याय, कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइ, ताराखोलाका स्वास्थ्य शाखा प्रमुख उदित थापा, बिद्यामन्दिर माबिका अध्यक्ष बाबुलाल शाक्य, प्रअ शान्तमणी ढकाल, बडिगाड गाउँपालिका ३ का अध्यक्ष खड्गबहादुर पुन, नेपाल रेडक्रस सोसाइटीका सभापति जब्बरबहादुर लामिछाने लगायतले आफ्ना धारणा राख्दै भ्रष्टाचार मौलाएको टिप्पणी समेत गरेका थिए ।





