शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गर्मिदै स्थानीय निर्वाचनको माहोल

गर्मिदै स्थानीय निर्वाचनको माहोल


  • ढोरपाटन संबाददाता
  • माघ १ २०७८, शनिबार

स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ५ गते समाप्त हुन्छ । तर निर्वाचन सम्पन्न गर्न कम्तिमा ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोगलाई कानुनतः १२० दिन आवश्यक पर्छ ।

पोखरा/ तीन ठूला दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको छ । महाधिवेशनमा तीनै पार्टीले तीनै तहका आगामी निर्वाचन जित्ने गरी एजेन्डा तय गरेका छन् । पार्टीहरुको वडा तहसम्मका कमिटीहरु अधिवेशनमार्फत नयाँ नेतृत्व छानिएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । निर्वाचन आयोगले शुक्रबार दलका शीर्ष नेताहरुसहितको बैठक बोलाएर निर्वाचनको मिति तोक्न आग्रह गरिसकेका छन् ।

गाउँगाउँमा पार्टीहरुको अधिवेशनले राजनीतिक सरगर्मी बढाइसकेको छ । अधिवेशनमै कार्यकर्ताले वडादेखि पालिका प्रमुख र उपप्रमुखको दावा गर्न थालिसकेका छन् । गाउँमा कुन पार्टी र कुन उम्मेदवारले चुनाव जित्ने कसले हार्ने हिसाबकिताब सुरु भइसकेका छन् ।

निर्वाचन आयोगले दलका नेताहरुलाई शुक्रबार नै एक साताभित्र निर्वाचनको मिति तोक्न आग्रह गरिसकेको छ । आयोगले एक साताभित्र स्थानीय निर्वाचनको मिति तय नभए समयमै चुनाव गराउन नसक्ने समेत दलहरुलाई आग्रह गरिसकेका छन् ।

आयोगले स्थानीय चुनाव गर्न कम्तिमा १२० दिन समय आवश्यक पर्ने जानकारी दिएको छ । संविधान अनुसार स्थानीय तहका जनप्रतिनिधिको म्याद थप्न नमिल्ने भन्दै आगामी बैशाख १४ गते निर्वाचन गर्न मिति प्रस्ताव समेत गरिसकेको छ । जेठ ५ अगावै निर्वाचन हुन नसके स्थानीय तह जनप्रतिनिधिविहिन हुनेछन् । यस्तो रिक्तता आउन नदिन पनि समयमै निर्वाचन हुनुपर्ने आयोगले जोड दिएको छ ।

आयोगले बोलाएको बैठकमा सहभागी एमाले नेता विष्णु रिमालले स्थानीय चुनाव समयमै गर्न सत्तारुढ दलहरुलाई आग्रह गरेको बताए । यसअघि समयमै स्थानीय चुनाव हुन नसक्दा २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुन पुगेको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेको बताए ।

‘त्यतिबेला प्रधानमन्त्री देउवा हुनुहुन्थ्यो, उहाँले समयमा चुनाव गर्न नसक्दा २० वर्ष स्थानीय निकाय खाली भयो,’ उनले भने, ‘संयोगले अहिले पनि उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ, यसपालि समयमै चुनाव गर्न हामीले सुझाव दियौं ।’

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले समयमै निर्वाचन गर्न सरकारले छिटो निर्णय लिनुपर्ने बताए । ‘चुनाव समयमै हुनुपर्छ भनेर हामीले जोड दिएका छौं,’ लेखकले भने, ‘स्थानीय निर्वाचनको मिति सरकारले समयमै तोक्नुपर्छ ।’ निर्वाचनको मिति घोषणा गर्न दलहरुवीच समझदारी आवश्यक पर्ने भन्दै उनले सबै दलले समयमै निर्वाचन सम्पन्न गर्न संकल्प गर्नुपर्ने बताए ।

सत्तारुढ र विपक्षीसहित १५ दल सहभागी भएको छलफलमा सबै दलहरु समयमै निर्वाचन सम्पन्न हुनुपर्नेमा सहमत देखिएका थिए । तर, सरकारले समयमा मिति तोकेन भने प्राविधिक समस्या आउन सक्नेतर्फ सचेत गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

विज्ञप्ति निकालेर उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेठ ५ गते समाप्त हुन्छ । तर निर्वाचन सम्पन्न गर्न कम्तिमा ५३ क्रियाकलापहरु सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोगलाई कानुनत १२० दिन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->