पोखरा/ पोखरामा हिउँद होस या बर्खा विभिन्न प्रजातिका चराहरु जाडो तथा गर्मी छल्न आउने गर्दछन् । विभिन्न स्थानमा जानका लागि चराहरुको मार्गको रुपमा पोखरा समेत पर्ने गरेको छ । पोखरालाई तालहरुको सहर भनेर चिनिन्छ । पोखरामा फेवा ताल, बेगनास ताल र रुपा ताल ठुला तालहरु हुन भने खास्टे, मैदी, दीपाङजस्ता अन्य साना ताल पनि छन् ।
कुनै समय निकै चराहरु देखिने यी तालहरुमा अहिले बिरलै चराहरु देखिने गरेका छन् । यी तालहरुमा रैथानेदेखि बसाइँसराइ गर्ने र घुमन्ते चराहरु पाइने गर्दछन् । पोखरामा मात्रै वर्षभरिमा एक सय २ प्रजातिका चराहरु देखिन्छन् । तर, अंग्रेजी महिनाको पहिलो महिनामा हुने गणनामा भने ४६ प्रजातिका चराहरुमात्र देखिन्छन ।
विगत ५ वर्षको तथ्यांक हेर्दा पोखराको फेवातालमा चराका प्रजातिहरु बढिरहेका छन् । तर, यो देखेर खुसी हुने अवस्था भने छैन । प्रजाति बढिरहँदा चराको संख्यामा भने ह्रास आउँदै गएको एक तथ्यांकले देखाएको छ । यसको मुख्य कारण नै सिमसार क्षेत्र पुरिनु र जथाभावी डोजर लगाउनु नै भएको चरा विज्ञको भनाइ छ ।
चरा विज्ञका अनुसार सिमसार क्षेत्र पुरिँदै गएमा चराहरुको लोप हुने देखिएको छ । सिमसार क्षेत्र परिनु र अव्यवस्थित विकासका कारण चराहरुको संख्या घटको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् ।
‘चराहरु विशेष गरी हिउँद र बर्खा छल्नका लागि जाने गर्दछन् । उनीहरुले तालका लेउदेखी पानीमुनीका जराहरु, माछा, शखेकीरा, मरेका चिजहरु खाने गर्दछन्,’ घिमिरेले भने, ‘जसले पर्यावरणलाई स्वस्थ राख्न मद्धत गर्दछ ।’ तर, पछिल्ला समयहरुमा पोखराका लेखनाथमा रहेका तालहरुको जलचराहरु धरासायीमा परिरहेको उनले बताए ।
तालसँगै जोडेर चक्रपथ निर्माण, सिमसार क्षेत्रमा प्लटिङ, तथा वनभोज स्थलहरु बनाउँदा चराहरुको बासस्थान भत्किदा अन्यत्र गएको उनले बताए । त्यस्ता कार्य रोक्नका लागि राज्यको निकायबाट नै सुरुआत गर्नुपर्ने उनको सुझाव छ ।
यस्तै भूबिचौलियका कारण पछिल्ला वर्षहरुमा भने लेखनाथको ७ तालमा चराहरुको संख्या धरासायी रुपले घटेको देखिएको छ । बेगनास तालको तथ्यांक हेर्दा यो वर्ष नै सबैभन्दा खराब देखिएको छ । २०२२ मा बेगनासमा ६ प्रजातिका ५९ संख्यामा चराहरु देखिएका छन् । गणनाले चराहरुको अवस्था संवेदनशील, संकटापन्न र अति संकटापन्न कुन छ त्यो छुट्याउने गरिन्छ ।
पाँच वर्षमा फेवातालको कुरा गर्दा २०१७ सालमा ३६ प्रजातीका १ हजार ८ सय ७ संख्यामा देखिएको थियो । यस्तै २०१८ मा ३८ प्रजातिका २ हजार २ सय ८३, २०१९ सालमा ३९ प्रजातिका १ हजार ४ सय ७०, २०२० मा ४३ प्रजातीका १ हजार ३ सय ५५, २०२१ मा १ हजार ८ सय ३८ संख्यामा चराहरु देखिएको छ ।
पोखराको रैथाने पानी चरा कुर्माको संख्या थपिएको छ । फेवातालमा मात्रै ५ सयको हारहारीमा देखिएको रैथाने चरा अन्य तालहरुमा समेत देखिएको छ । आगन्तुक पानी चरा कालीजुरे हाँस, कमन टिल्क जस्ता प्रजातीका चराको संख्या घट्दो क्रममा छ । मालक हासँ, फेरी जुनियस डक, कालो चिल, सेतो चिलहरुको संख्या भने बढेको देखिन्छ । सेतो चिल भने पोखरामा सबैभन्दा बढी देखिएको छ । पोखरामा करिब ४ सयको हारहारीमा देखिएको छ ।
चराहरु जुन क्षेत्रमा बढि आहारा पाउछ त्यहि स्थानमा मात्रै बस्ने गरेको टाइगर माउन्टेनकाका झलक चौधरीले बताए । ठेउवाका प्रजाति हराउन थाल्दा ढोडँे गोकुल चराको संख्या ह्वातै बढेपनि अहिले घट्दो क्रममा रहेको सुनाए ।
उनले पछिल्लो समयमा पोखरामा चरा पर्यटन बढ्दो क्रममा रहेको देखिएको बताए । नेपालमा आउने पर्यटक मध्ये ५ प्रतिशत मात्र चरा हेर्न आउने गरेका छन् । पोखरामा भने सिकारी चराहरु हेर्न आउने देखिन्छ । पोखरालाई सिकारी चराको सहरको रुपमा लिने गरिएको छ । २०२२ को चरा गणना भने चलिरहेको छ ।





