पोखरा/फेसबुक ग्रुप एमआरआर पोखराको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । कोभिड महामारीमा रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो ।
विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय एमआरआरले कोभिडका समयमा पोखरामा रगत अभाव हुन नदिने उद्देश्य स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको एमआरआरका सक्रिय सदस्य सुदीप पौडेलले जानकारी दिए । ‘कोभिडका समयमा हुन सक्ने सम्भावित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने, ‘एमआरआर अन्य सामाजिक क्रियाकलापमा समेत सक्रिय छ ।’
रक्तदान कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बहादुर बस्नेतले रगत सबै भन्दा बढी दुर्घटनामा परेकाहरुलाई आवश्यक पर्ने बताए । एमआरआरका युवा साथीहरुले आयोजना गरेको रक्तदान कार्यक्रम आफैमा सकरात्मक भावना स्वरुप गरिएको कार्यक्रम भएको उल्लेख उनले गरे ।
संकलन गरिएका रगतको सदुपयोग समेत सही तरिकाले हुन आवश्यक रहेको भनाई उनको छ । ‘विश्वका आँकडा अनुसार वर्षेनी १३ देखि १४ लाख सम्म मानिसको मृत्यु सडक दुर्घटना बाट भएको छ । उनीहरुलाई रगत समयमा नै उपलब्ध गराउन नसक्दा यस्तो समस्या भएको देखिन्छ । यस्ता विषयमा हामीले ध्यान पुर्याउन आवश्यक छ’, उनले भने ।
बस्नेतले अंगभंग भएकाहरुलाई रगतको आवश्यकता बढी पर्ने भएकाले एमआरआर जस्ता सामाजिक संस्थाले गरेका सामाजिक कार्यक्रमहरुमा ट्राफिक प्रहरी प्रशासनको समेत सहयोग रहने विश्वास व्यक्त गरे ।
एमआरआर विशुद्ध सामाजिक सेवा प्रवाह गर्ने उद्देश्य स्वरुप खोलिएको संस्था भएको सक्रिय सदस्य नरेश भट्टराइले बताए । उनका अनुसार एमआरआरमा नेपालसँगै विदेशमा रहेका एक लाख युवाहरु आबद्ध छन् । ‘एमआरआर युवाको घर हो, जहाँ कुनै स्वार्थ छैन । समाजमा भएका अप्ठेराहरुमा सक्रिय पूर्वक भूमिका निर्वाह गर्दै आएका छौं ।’, भट्टराईले भने । एमआरआर ग्रुप संचालनमा आएको १० वर्ष पुगेको जानकारी उनले गराएका छन् ।
सुजन ढकालको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उनले रक्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता एंव संघसंस्थालाई धन्यवाद दिएका छन् । आगामी समयमा पनि एमआरआरले सामाजिक सेवामा सक्रियता देखाउने प्रतिबद्धता उनको छ ।





