मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गाडी भाडा बढ्यो, लागू ‘नहुने’ !

गाडी भाडा बढ्यो, लागू ‘नहुने’ !

अब ट्याक्सी चढ्न न्यूनतम ८० रुपैयाँ ।


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७८, बुधबार
फाईल तस्विर

‘भाडा समायोज भए पनि ठ्याक्कै कहिलेदेखि लागू हुन्छ भन्न सकिँदैन । अहिले क्याबिनेटबाट निर्णयमात्रै भएको हो । व्यवसायीले शर्तहरु मान्ने लिखित सम्झौता गरेपछिमात्रै लागू हुन्छ ।’

पोखरा/ गण्डकी सरकारले सार्वजनिक सवारीसाधन र ट्याक्सीको भाडादर बढाएको छ । प्रदेश मन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीसमेत रहेका प्रवक्ता खड्काले प्रदेशमा २३ प्रतिशतसम्म समायोजन गरेको जानकारी दिएका हुन् । उनका अनुसार लामो दूरीको बसमा २३.५१ प्रतिशतले बढाएको छ । नगर बसको हकमा २२.५५ प्रतिशत, ट्रकको हकमा १४.५७ जिपको हकमा ५.५० को हकमा वृद्धि गरिएको छ ।

संघीय सरकारले यसअघि नै २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ । भाडा वृद्धि गर्ने यातायात व्यवस्था विभागको प्रस्तावलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले असार २७ गते स्वीकृत गरेका थिए । सोही प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि विभागले भाडादर बढाएको थियो ।

गण्डकी सरकारक प्रवक्ता खड्काले संघीय सरकार र अन्य प्रदेशले भाडा समायोजन गरेकाले आफूहरुले पनि भाडादर समायोजन गरेको सुनाए । यसअघि असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको भाडादर समायोजन गर्ने विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय प्रदेश भाडादर सिफारिस समिति गठन भएको थियो ।

‘भाडा समायोजन गनुपर्ने/नपर्ने र हो भने किन, होइन भने किन नपर्ने ? कति गर्ने भन्ने विषयमा सचिवज्यूको संयोजकत्वमा एउटा सिफारिस समिति गठन भएको थियो,’ खड्काले भने, ‘सोही समितिले दिएको प्रतिवेदनका आधारमा भाडा समायोजनको विषयलाई निर्णय गरेका हौं ।’
मन्त्रिपरिषद्को बैठकले ट्याक्सी भाडामा समेत समायोजन गरेको छ । प्रवक्ता खड्काले नयाँ समायोजन अनुसार १५ किलोमिटर भित्रमा ‘फ्लेग डाउन रेट’ ८० र प्रत्येक २ सय मिटरमा १० का दरले ट्याक्सी भाडा निर्धारण भएको छ ।

यसअघि पोखरामा सुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँमात्रै थियो । ‘कागजी रुपमा मात्रै थोरै देखिएको हो । त्यो भाडामा अहिले कोही पनि ट्याक्सी चल्दैनन् । हेर्दा २८ रुपैयाँ देखिएपछि यात्रु २, ३ सय तिर्न बाध्य थिए,’ उनले भने, ‘अहिले हामी कागजी रुपमा महंगो भए पनि व्यावहारिक रुपमा ३० देखि ५० प्रतिशत सस्तो हुन पुगेका छौं ।’

यसअघि नै भाडादर समायोजन गरेको बागमती प्रदेशमा सुरुआती न्यूनतम ६० रुपैयाँ तोकेको छ । बागमतीको २ सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेगरी भाडादर निर्धारण गरिएको छ ।

बागमतीभन्दा काठमाडौं किन महंगो ? प्रवक्ता खड्का भन्छन्, ‘काठमाडौंमा पपुलेसन धेरै छ । त्यहाँ ट्याक्सी चढ्ने धेरै हुन्छन् । पोखरामा एक ठाउँमा गइसकेको ट्याक्सी फर्किंदा यात्रु नै नपाउने समस्या हुन्छ । दोहोरो ग्राहक नपाउने भएकाले केही महंगो देखिन गएको हो ।’
समायोजन भयो, लागू टुंगो छैन

प्रदेश सरकारले मन्त्रिपरिषद्बाटै समायोजन गरेर भाडादर बढाएको भए पनि कहिलेदेखि लागू गर्ने विषय भने खुलाएको छैन । सवारी धनीले भाडादर बढाएसँगै प्रदेश सरकारका विभिन्न शर्त र मापदण्ड पालना गरेमात्रै नयाँ भाडादर लागू हुने जिकिर गरेको छ ।

‘भाडा समायोज भए पनि ठ्याक्कै कहिलेदेखि लागू हुन्छ भन्न सकिँदैन । अहिले क्याबिनेटबाट निर्णयमात्रै भएको हो । प्रमुख सचिव ज्युले हस्ताक्षर गरेर प्रमाणित गरेपछिमात्रै राजपत्रमा प्रकाशित हुने हो,’ खड्काले भने, ‘व्यवसायीले शर्तहरु मान्ने लिखित सम्झौता गरेपछिमात्रै लागू हुन्छ ।’

मन्त्री खड्काका अनुसार समायोजित नयाँ भाडादर लागू गर्न सवारी धनीले सरकारले तोकेको ठाउँमा मात्रै गाडी रोक्नुपर्ने, बसमा जिसिपिएस जडान गनुपर्ने, अटोमेटिक डोर सिस्टम राख्नुपर्ने लगायत ठूला बसको हकमा शर्तहरु अघि सारेको छ ।

‘अब नयाँ खरिद र दर्ता गर्ने बसको ढोका अटोमेटिक हुनैपर्छ । त्यो नहुँदा धेरै दुर्घटनाका घटना भएको पनि हामीले पाएका छौं,’ मन्त्री खड्काले भने, ‘त्यसका लागि व्यवसायीसँग परामर्श गरिने छ ।’ उनले सरकारको समन्वयबाट कार्ड सिस्टमबाट भाडा तिर्ने प्रणालीमा पनि लगिने जानकारी दिए ।

ट्याक्सीको हकमा भने तत्कालै मिटर बक्स राख्नु पर्ने, नयाँ ट्याक्सीले बिलसहितको मिटर राख्नुपर्ने, सबै ट्याक्सीमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने शर्त प्रदेश सरकारको छ । साथै, ट्याक्सी चाल पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त पोशाक र रङ लगाउनुपर्ने प्रदेश सरकारले जनाएको छ ।
‘चालकले आफ्नो र सवारीको नामसहित सबै विवरण खुल्नेगरी पहिचानपत्र सबै ग्राहकले देख्नेगरी राख्नुपर्ने, भिजिटिङ कार्ड प्रत्येक ट्याक्सी चालकले सेवाग्राहीलाई दिनुपर्ने शर्तहरू छन्,’ प्रवक्ता खड्काले भने, ‘यसले सामान छुटेमा वा केही घटना घटेको खण्डमा यात्रुले ट्याक्सीको सम्पूर्ण विवरण राख्न सक्छन् ।’

समायोजनपछि गाडी भाडादर बढ्ने भए पनि प्रदेश सरकारले राखेका शर्तहरु पालना भए अहिले यात्रुले तिरिरहेको भन्दा सस्तो पर्न जाने दाबी मन्त्री खड्काको छ । ‘हिजोका नियमभन्दा बढी भएपनि यथार्थमा यात्रुले तिरिरहेको भाडा कम पर्न जान्छ । तिरिरहेको भाडा अझै कम पर्न जाने हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->