बागलुङ/ एक सातामै बागलुङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार दिउसो सम्मको पिसिआर र एन्टिजेन्ट परीक्षणबाट बागलुङमा १ सय ८७ जना सक्रिय संत्रमितको संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
संक्रमितमध्ये बागलुङ नगरपालिकाभित्र मात्रै १ सय ८ जना सक्रिय संक्रमित पुगेका छन् । बानपाका १४ वटा वडामध्ये सबैभन्दा धेरै वडा नंं २ मा मात्रै २२ जना सक्रिय संक्रमित छन् । वडा नंं. १, २, ३ र ४ तथां १३ लाई उच्च जोखिमको क्षेत्रमा राखिएको छ । ती वडामा ११ देखि २२ जनासम्म सक्रिय संक्रमित रहेका हुन् । बानपाको वडा नंं. ११ मा मात्रै शुन्य संक्रमणको अबस्था रहेको घिमिरेले बताए ।
गलकोट नगरपालिकामा पनि ३४ जना संक्रमित पुगेका छन् । तीमध्ये वडा नंं ३ रहेको हटियामा बढी जोखिम छ । बरेङ गाउँपालिकाको–५ पनि जोखिमको सूचीमा परेको छ । बरेङमा मात्रै सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । बुधबार ५२ जना संक्रमित थपिंदा १ जना मात्रै डिस्चार्ज भएका छन् । घिमिरेका अनुसार जिल्लामा अहिलेसम्म २४ हजार ५१ ज्नाको पिसिआर र ४ हजार ४ सय ५० एन्टिजेन्ट गरिएको छ । ती मध्येबाट ७ हजार ८ सय ५२ जना संक्रमित भएका छन्भने मध्ये ७२ जनाको मृत्यु समेत भैसकेको छ ।
कोरोना संक्रमण बढेपनि जिल्लाभित्र सुरक्षा साबधानी भने खासै भएको छैन । प्रशासनले तयारीबारे जानकारी दिएपनि मुख्य बजार क्षेत्रमा भीडभाडका कार्यक्रम भैरहेका छन् । मंगलबार मात्रै राष्ट्रिय सभाका उमेदवारहरुको परिचयात्मक कार्यक्रमदेखि मुख्य मन्त्री कृष्णचन्द्र नेपाली बसार कार्यक्रममा भीड थियो । बजार क्षेत्रमा पनि अनावस्यक मानिसको भीड लाग्ने गरेको छ ।
बिद्यालय बन्द भएपनि अन्य सेवा सदाबहार चलेकोले कोरोनाको जोखिम बढेको हो । अघिल्ला दुइवटा भेरियन्टको तुलनामा कमजोर भाइरस भएकोले धेरैले यो पटक वेवास्ता गरेको भेटिएको स्थानीयले बताए । ‘जोखिम छ भनेपनि मानिस हिँड्न छाडेका छैनन्’ बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले भने, ‘बिद्यालय बन्द भयो, तर अन्य क्षेत्रबाट कोरोना सर्दैन भनेजस्तो भएको छ ।’
संक्रमणलाई कमजोर भएको भनेर लिन नहुने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौको भनाई छ । ‘यो कमजोर, यो कडा भन्ने हुँदैन, संयोगले केही भएको छैन भनेर हेलचक्राइ नगरेको राम्रो’ गुरौले भने, ‘सचेतना अपनायौं भने संक्रमणबाट जोगिन सकिन्छ ।’ टोलटोलमा हुने संक्रमण वा संकास्पद मानिसलाई सुरक्षित बस्न लगाउनु पर्ने उनले सुझाव दिए ।
कोरोना संक्रमणका कारण अस्पतालमा जानेको संख्या कम भएपनि रुघाखोकी, टाउको दुख्ने र अन्य समस्या भएका मानिस भने धेरै छन् । कोरोना पुष्टी भैसकेका बाहेक परीक्षण नगर्ने पनि उत्तिकै छन् । ‘कतिपयले भनेकै छैनन्, वास्ता गरेका छैनन्’ स्थानीय उमेश गौतमले भने, ‘अब आँफै सचेत हुनुपर्ने भयो, नत्र संक्रमण त घर घरमै पुगेको छ ।’





