शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

शंखेपहरालाई पर्यटकीय गन्तव्य बनाउने अभियान

शंखेपहरालाई पर्यटकीय गन्तव्य बनाउने अभियान


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७८, शनिबार

स्थानीय रमेश पुन, टेकबहादुर थापा लगायतले यो पहराको महत्वबारे प्रचार थालेका हुन् । अन्यत्रको भन्दा फरक प्रकारको पहरा र ढुंगामा केही नौलो पन भएको अनुमानले दशकदेखि यी २ युवाले चासो राखेका थिए ।

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका५, बिनामारेका युवाहरुले शंखेपहराको प्रचार र पहिचान बढाउने अभियान थालेका छन् ।बिनामारेको ठूलो भीर नजिकैको पहरामा शंख बज्ने ढुंगा छ । उक्त ढुंगामा युवाहरुले लामो समयको खोजीपछि शंक बज्ने पत्ता लगाएका हुन् । शंख फुकेझै फुकेपछि आवाज निस्कन्छ ।

यो शंख बज्ने मात्र नभई समुन्द्री ढुंगाको अवशेष भएकोले स्थानीयले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरेका हुन् । ठूलो भीर भएकोले जो पायो यहाँ जान डराउँछन् । तर, स्थानीय रमेश पुन, टेकबहादुर थापा लगायतले यो पहराको महत्वबारे प्रचार थालेका हुन् । अन्यत्रको भन्दा फरक प्रकारको पहरा र ढुंगामा केही नौलो पन भएको अनुमानले दशकदेखि यी दुई युवाले चासो राखेका थिए ।

निरन्तरको प्रयास र खोजीबाट शंखेपहरा पत्ता लागेको पुनले बताए । ‘पहिला हामीले भनेको कसैलेपनि पत्याएनन्,’ पुनले भने, ‘मैले धेरै पटक शंख बजाएको भिडियो खिचेर ल्याएपछि मात्र गाउँलेहरुमा विश्वास भयो ।’ उनले पटक पटक पहरामा गएर शंख फुक्ने गरेका छन् । अनौठो पहराको प्रचार बढेपछि दैनिक ३० देखि ५० जनासम्मले यो पहरा अवलोकन गर्न थालेको पुनले बताए ।

यो पहरामा समुन्द्रमा पाइने ढुंगाहरु छन् । ढुंगामा पनि हात्ती, गाईका खुर र सर्पहरुको आकृति छन् । ‘देवीदेवताको मुखाकृतिसमेत देखिएकोले कोही पूजा गर्नपनि जान्छन्, कोही शंख फुक्न पुग्छन्,’ पुनले भने, ‘अहिले धेरै मानिसहरु हेर्नआउन थालेका छन् ।’
मानिस आउन थालेपछि भीरमा स्थानीयले बाटो बनाएका छन् । सिंढी लगाएर पहरासम्म जाने बाटो बनाइएको छ । समुन्द्री ढुंगाहरु भएकोले खोजी अध्ययन गर्नेकालागि पनि उपयोगी भएको स्थानीय टेकबहादुर थापाले बताए ।
थापा प्याराग्लाइडिङका पाइलट पनि हुन् । उनले यो पहरा हेर्नेगरी प्यालाग्लाइडिङ समेत गर्न सकिने योजना बनाएका छन् । बलेवास्थित पैयुँपाटामा व्यवसायिक उडान सहितको प्याराग्लाइडिङ कम्पनी स्थापना गर्न लागेका थापाले पर्यटकको रोजाइमा शंखे पहरामा पनि उडान भर्न सकिने बताए ।

‘पहिला डराउने भीर मात्रे थियो, अब व्यवस्थापन गर्नु पर्छ भनेर युवा जुटेकाछन्,’ थापाले भने, ‘पूर्वाधार विकासको काम पनि सुरु भएकोले अब यो पर्यटन क्षेत्र बन्नेछ ।’ पूर्वाधार विकास कार्यालय बागलुङले यहाँ चालु वर्ष ४ लाख ३६ हजार खर्चेर पूर्वाधार निर्माण थालेको छ । रिठेडाँडा पर्यटकीय पार्क तथा टावर निर्माण आयोजनामा कार्यालयले लगानी गरेको हो ।

केही भूर्गभविद्ले आएर यो पहाडको प्रारम्भिक अध्ययन गरिसकेको थापाले बताए । ‘समुन्द्री जीव बसेको र प्वालहरु भएकोले शंख बजेको हो भन्नेहरु छन्,’ थापाले भने, ‘भूकम्पको समयमा समुन्द्री सतहमाथि उठेर बनेको पहाड भएकोले अध्ययन केन्द्र बन्न सक्नेछ ।’ केही ढुंगामा ठूला प्वाँल पनि छन् । ढुंगाका आकृतिहरु सयौं प्रकारका छन् । त्यसैले अध्ययन केन्द्र बनाउनु पर्ने युवाले माग पनि गरेका छन् ।
वडाध्यक्ष गोपालप्रसाद शर्माले नगरपालिकामा पनि यो क्षेत्रको विकास र व्यवस्थापनमा चासो बढेको बताए । नगरपालिकाले प्रारम्भिक चरणको अध्ययनमा लगानी गर्ने शर्माको भनाइ छ । पूर्वाधार विकास कार्यालय मार्फत पर्यटन पूर्वाधार बनाउने, पार्कहरु व्यवस्थित बनाउने, तारबार लगाउने काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->