बागलुङ/ बागलुङका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । विद्यालय तहका बालबालिकालाई खोप लगाउन थालिएको पहिलो पटक हो ।
आइतबार रामरेखास्थित सिदार्थ शिक्षा सदन र उपल्लाचौरस्थित वडा कार्यालयमा खोप लगाइएको थियो । पहिलो चरणमा बागलुङ नगरपालिका भित्रका १२ बर्षदेखि १७ बर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान स्वरुप खोप लगाउन थालिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बागलुङ नगरभित्रका उक्त उमेर समूहका ६ हजार ५ सय बालबालिकालाई खोप लगाउने योजना उनले सुनाए । पहिलो दिन खोप केन्द्रहरुमा ३ सयका दरले खोप लगाइएको स्वास्थ्यकर्मीले जानकारी दिए । ‘पहिलो दिन भएकोले बालबालिका थोरै आएका होलान, अब बिद्यालयले जानकारी गराएपछि धेरै आउँछन्’ बानपा–१ का वडा सदस्य सूर्य लामिछानेले भने, ‘सबै बालबालिकालाई खोप लगाउन सकियो भने बिद्यालय संचालनमा पनि सहज अबस्था आउनेछ ।’ बालबालिकाको लागि मोर्डना खोप लगाइएको हो ।
खोप लगाएका बालबालिकाले अब बिद्यालय खुल्ने आस गरेका छन् । ‘हामीले खोप लगाएपछि अब बिद्यालय खोलेर पढ्न पाइन्छ होला’ सिदार्थ शिक्षा सदनमा कक्षा ६ मा पढ्ने करिना थापाले भनिन्, ‘अब भने कोरोना लाग्दैनकी भन्ने ढुक्क भएका छौं ।’
शिक्षकहरुले पनि बालबालिकालाई खोप लगाएर केही ढुक्क हुन पाएको बताए । बिद्यालय आएकै कारण कुनै बालबालिकामा संक्रमण देखिएमा अभिभावकबाट समेत गाली पाउने खतरा भएकोमा खोप लगाएपछि संक्रमण भैहालेपनि समस्या कम हुने अबस्था बनेको न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।





