शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गलकोटमा जिल्लाकै ठूलो फलफूल स्टोर

गलकोटमा जिल्लाकै ठूलो फलफूल स्टोर


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७८, सोमबार

बागलुङ/दैनिक चल्ने यातायातका साधनले ल्याउने फलफूलले मौषमी फलफूल खान पाइन्थ्यो । बेमौषमी फलफूल पाउने संभावना थिएन । तर स्थानीय युवाले गलकोटमा बनाएको कोल्ड स्टोरले गलकोट मात्र नभई पश्चिम बागलुङका सबै बस्ती र बजारमा अहिले नियमित फलफूल पाइन थालेको छ ।

गलकोट नगरपालिका–३ को हटिया बजारमा एक बर्षअघि सात जना युवाले खोलेको सिद्ध भैरव स्टोरबाट बुर्तिवाङसहित गुल्मीका केही बजारमा पनि फलफूल बिक्री हुन थालेको हो । स्थानीय इश्वर ज्ञवाली, मनबहादुर खत्री, सन्तबहादुर भण्डारी, सन्तबहादुर साहनी, भीमलाल शर्मा, हिमाल गौतम, तारानाथ आचार्य र भीम केसीले खोलेको यो स्टोरले दैनिक सयौं केजी फलफूल बजार पठाउन थालेको हो ।

हटिया बजारको सिमखेतमा ५ बर्षका लागि जग्गा भाडामा लिएर बनाइएको स्टोरले फलफूल बजारमा नयाँ रौनकसमेत ल्याएको छ । बिशेषगरी स्याउसहित सुन्तला, केरा, किवी, गर्मी मौषमका अन्य फलफूल पनि सहजै उपलब्ध हुन थालेको हो । युवाहरुले २ करोड लगानी गरेर स्टोर खोलेको बताए । ‘हामीले गाउँ लक्षित गरेरै फलफूलको स्टोर बनाएका हौं, यहाँ १ सय २० टन फलफूल भण्डारन गर्न सकिन्छ’ ज्ञवालीले भने, ‘यो स्टोर खोलेको एक बर्षमै नाफामा जान थालेका छौं ।’
यहाँ आलु, प्याज जस्ता तरकारी पनि स्टोर गरिन्छ । केही होलसेल पसलले भाडा तिरेर पनि स्टोर गराउँछन् । तर उनीहरुले ल्याएका सामान बढी स्टोर छन् । चीन र भारतबाट आएका स्याउदेखि मुस्ताङको स्याउ पनि सयांैं प्याकेट भण्डारन छ । यो भण्डारमा स्याउलाई एक बर्षसम्म राख्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै सुन्तला तीन महिनासम्म राखिन्छ ।

‘तापक्रमको व्यवस्थापनबाट फलफूल लामो समय राख्ने, आवस्यक पर्दा खान मिल्ने बनाउने गरेका छौं’ ज्ञवालीले भने, ‘अत्याधुनिक प्रविधि भएकोले नियमित र आवस्यक पर्दा उपभोक्तालाई उपलब्ध गराउन सकेका छौं ।’ गलकोट क्षेत्रका किसानले उत्पादन गरेका फलफूल उनीहरुले खरिद गरेर स्टोर गराइदिएका छन् ।

‘किसानले बाहिर बेच्नुपनि परेन, उहाँहरुले खरिद गरेर लैजानुहुन्छ, किसानलाई पनि राम्रो भएको छ’ गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘आवस्यक पर्दा किन्न पाइने भएपछि चाडपर्व र उत्सवलाई बढी फाइदा भएको छ ।’
उनीहरुले तमानखोलादेखि निसीखोला, गुल्मीको रिडी बजारदेखि तम्घाससम्म आफ्नै गाडीमा राखेर फलफूल पु¥याइदिएका छन् । यसरी लैजाँदा बेमौषमी फलफूलको पनि धेरै महंगो मूल्य नपरेको स्थानीय कौशीला घर्तीले बताइन् । ‘आवस्यक पर्दा तत्काल मगाउन पाएका छौं, धेरै राम्रो छ’ उनले भनिन्, ‘लामो समयदेखिको चाहना रहेको व्यवसाय युवाहरुले थालेर धेरै सहयोग मिलेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->