
बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रेको काम सुरु हुन केही समय लाग्ने भएको छ । नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रेका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो ।
राष्ट्रिय चासोको सडक भएपनि स्तरोन्नती र कालोपत्रेको काममा ढिलाई भएको हो । बागलुङ सदरमुकाम मालढुंगादेखि बलेवा सम्मको खण्ड नेपाली सेनाले दुई वर्षअघि हस्तान्तरण गरेको भएपनि कालोपत्रेका लागि ठेक्का लगाउन दोहोरो योजनाको झण्झट छ । गत आर्थिक वर्षमा सडक विभागले सडक डिभिजन कार्यालय बागलुङमार्फत ५ करोड रुपैयाँमा स्तरोन्नतीको ठेक्का लगाएपछि करिडोर आयोजनाले उक्त १० किलोमिटर खण्डमा कालोपत्रेको प्रक्रिया अघि बढाएको छैन ।
डिभिजन कार्यालयका अनुसार आउँदो चैत मसान्तसम्म स्तरोन्नतीका लागि जिम्मेवारी पाएको निर्माण कम्पनीको म्याद छ । समयमै काम सकिए अर्को आर्थिक वर्षमा मात्रै करिडोर आयोजनाले कालोपत्रेका लागि बोलपत्र आव्हान गर्न पाउने छ । भौतिक प्रगति ६७ प्रतिशत रहेको स्तरोन्नतीको काम समयमा सकिनेमा डिभिजन विश्वस्त छ ।
बलेवा विमानस्थल र दक्षिण बागलुङको लागि बाहै्र महिना चल्नसक्ने मुख्य सडकको रुपमा रहेको यो खण्ड कालोपत्रेका लागि राजनीतिक दल तथा जनप्रतिनिधिले दबाव दिएका छन् । विमानस्थल कालोपत्रे भैरहेकाले यो खण्ड कालोपत्रे हुँदा बिमानस्थल सञ्चालनमा सहज हुने स्थानीयको आश छ । गत असार १ गते बानपा–१० भकुण्डेको एक्लेसालमा आएको भीषण पहिरोले क्षति पु¥याएको करिडोर मर्मत गरेर चलिरहेको छ । समयमा यो खण्डको मर्मत नभए आउँदो बर्षा पुनः पहिरोको चपेटामा पर्ने स्थानीय विकास शर्मा बताउँछन् ।
बलेवादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्मको सडक आयोजनाले लिएको ६ महिना पुरा भएको छ । तर बहुबर्षे योजना स्वीकृतीका लागि योजना आयोगमा पठाएको फाईल हेर्न आयोगले समय लगाएपछि काम अघि नबढेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इञ्जिनियर सरोज ढकालले बताए ।
‘नेपाली सेनाले हस्तान्तरण गरेपछि आयोजनाको डिपिआर बनाउने काम भएको छ, कतै दोहोरो योजना हुने भएकाले काम रोकिएको छ, कुनै खण्डको बहुबर्षे स्वीकृत प्राप्त भएको छैन’ ढकालले भने ‘वातावरणीय परीक्षणको काम चलिरहेकाले अब छिट्टै स्वीकृतिको पर्खाइमा छौं ।’ करिडोरको ३८ किलोमिटर खण्ड बागलुङमा पर्छ । यो सडक कालोपत्रे हुँदा जिल्लाको दक्षिणमा सडक सञ्जाल सहज हुनेछ ।
योजना आयोगले स्वीकृती दिएपछि अर्थमन्त्रालयले करिडोरको फाईल हेर्ने छ । ‘हामीले स्वीकृती पाएर अर्थ मन्त्रालयको सैद्वान्तिक सहमति पाउँदाबित्तिकै बोलपत्रको काम अघि बढ्छ’ आयोजना पाल्पा कार्यालयका प्रमुख कल्पना अधिकारीले भनिन् ‘राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको अभाव हुँदैन् ।’ अर्को बर्ष खर्च गर्नेगरी पर्याप्त बजेट रहेको उनले बताईन् ।
पहिलो चरणमा ट्रयाक खोलेको नेपाली सेनाले दोस्रो चरणमा स्तरोन्नती गरेर १० मिटर चौडा गर्ने जिम्मेबारी पाएको थियो । समयमै काम सकेर हस्तान्तरण गरेको सेनाले बर्षाको समयमा बाढीपहिरोका कारण क्षति भएको सडकसमेत मर्मत गरेर छोडेको छ । ‘हामीले असारमा बुझाएका हौं, औपचारिक रुपमा असारदेखि कोरिडोर छोडेपनि सडक चल्न सक्ने बनाएर हिउँद लागेपछि हाम्रो क्याम्प त्यहाँबाट उठ्यो’ नेपाली सेनाको निर्माण कार्यदलका क्याप्टेन (निर्माण सह–सेनानी) शालिक नेपालले भने ‘हामीले हिउँदभरि निर्वाध चल्ने बनाएर करिडोर छोडेका छौं ।’
करिडोरको तत्काल स्तरोन्नती र कालोपत्रेका लागि बागलुङमा क्रियाशिल ठुला दलहरुले ध्यानाकर्षण गराउँदै आएका छन् । नेकपा एमाले बागलुङ र नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित जिल्ला कमिटिको पहिलो बैठकले निर्णय नै गरेर करिडोरको काम चुस्त बनाउन आग्रह गरेका छन् ।





