बागलुङ/आफ्नै श्रीमानले धोका दिएपछि अलपत्र परेकी एक महिलाले छोराछोरी सँगै न्याय मागेकी छिन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मीसेराको पोखरीका प्रकाश शर्मा आचार्यले परिवारका सदस्य छाडेर भागेपछि श्रीमती मीना सहित दुइ छोरी र एक छोरा अलपत्र छन् । उनीहरु मध्ये एक छोरीले होटलमा काम गर्छिन् भने मीना र अर्की छोरीले व्यक्तिको घरमा मजदुरी गर्छन् । उनीहरुको साथमा ५ बर्षको छोरा समेत छ ।
भारतमा लामो समय काम गरेका आचार्यले भारतमै बिबाह गरेका थिए । मीना तर्फ दुइ छोरी पाएपछि अर्कै विवाह गरेर हेलाहा गर्न थालेपनि उनीहरु सँगै थिए । तर दोश्रो तेस्रो हुँदै चौथो विवाह गरेपछि छोरी र जेठी पत्निले सास्ती खेपेका हुन् । उनीहरु न श्रीमानको साथमा छन्, न त घरका अन्य अभिभावकको ।
आचार्यले जायजन्म गरेकी जेठी श्रीमती मीनाको विवाह दर्ता समेत बनाइदिएका छैनन् । विवाह दर्ता नभएकोले नागरिकता समेत नभएपछि रोजगारीकाागि पनि अप्ठ्यारो परेको मीनाले दुखेसो पोखिन । छोरीहरु र आँफूपनि भाँडा माझेर दैनिकी चलाउनु परेको उनले गुनासो गरिन् । श्रीमान भने सम्पर्कमा छैनन् । उनका बाबुआमाले पनि वास्ता गरेका छैनन् । आचार्यका बाबु पदंनाथ शर्मा अहिले बागलुङ बजारमै बस्छन् । तर छोरा नभएको बेलामा उनले समेत बुहारी र नातीनातीनालाई वास्ता नगरेका हुन् । मीनाले साइली श्रीमतीको छोरा समेत पालेर बसेकी छिन् । ५ बर्षको छोरा समेत पाल्नु पर्दा मीनालाई सास्ती भएको हो ।
नेपाली भाषा समेत राम्रो सँग बुझ्न नसक्ने मीनाले न्याय खोजेको बताइन् । ‘मेरो श्रीमान आउनुप¥यो, हामीलाई नागरिकता बनाइदिनु पर्छ, घरमा बसेर काम गरेर खान पाउनु पर्छ’ उनले भनिन्, ‘हेलाहा गर्ने, कुटपिट गर्ने र छोराछोरीको वेवास्ता गर्दा हामी पीडित भयौं ।’ उनले मंंगलबार पत्रकार सम्मेलन गरेर न्यायकोलागि पहल गरिदिन आग्रह गरिन् । बाबु सम्पर्कमा नआएपनि हजुरबुवा पदंनाथले जेठी नातीनी गंगालक्ष्मीको नागरिकता बनाइदिएका छन् । कान्छी नातीनी ऐश्वर्याको पनि जन्मदर्ता भने गराएका छन् । तर बीस बर्ष अघि बिबाह भएकी मीनाको विवाह दर्ता छैन । बरु माइली श्रीमती सोममाया रेश्मीसँगको विवाह दर्ता छ । २०७३ सालमा तत्कालिन कुश्मीसेरा गाविसका सचिव दुर्गाप्रसाद शर्माले उक्त विवाह दर्ता गराएको कागजात छ । पहिला देखिनै मीना र छोरीलाई छल्ने प्रयासमा लागेका आचार्यले लकडाउनको समयमा नेपाल आएको मौका छोपेर छाडेर हिडेका हुन् ।
साइली श्रीमतीले भने आचार्यलाई छाडिसकेकी छिन् । उनले छाडेपछि उनको ५ बर्षको छोरा पनि मीनाले स्याहारेर बसेकी छिन् । आफ्नो छोरी समेत मजदुरी गरेर पाल्नु परेकी मीनालाई अर्को बच्चा समेत पाल्नु पर्दा झनै बोझ थपिएको छ । तर उनले आफ्नै छोराझै पालेकी छिन् । पैसा नभएर कोठा भाडा तिर्न र दुइछाक खान समेत समस्या हुने गरेको भन्दै उनले सबैले न्यायकालागि पहल गरिदिन आग्रह गरिन् ।
भारतमा राम्रो काम गर्दागर्दैपनि श्रीमती छाडेर हिड्ने र छोराछोरी पढाउन समेत वास्ता नगर्दा बढी समस्या भोगेको उनले बताइन् । ‘एक पटक नेपाल आएरपनि बसें, काम गरे, तर विवाह दर्ता अर्की श्रीमतीको भएको छ’ उनले भनिन्, ‘हामी सधैं सडकमा अलपत्र परिरहेका छौं, खोजी गर्न कसैले सघाएनन् ।’ उनी परिवारका सदस्यसँग भने सम्पर्कमा रहने, श्रीमती मीना र छोरीसँग सम्पर्कमा नरहेको समेत उनीहरुले आशंका गरे । पीडितले परिवारमा पुर्नमिलन र अधिकार पाउन अधिकारकर्मी गुहारेको समेत बताएका छन् ।





