
बागलुङ/सिंगल स्पान’ एक टापुबाट अर्को टापुमा जोड्ने प्रविधिको नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया सुरु भएको छ । बागलुङको बाङ्चौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि सिंगल स्पान प्रविधिमा संसारकै लामो पुल निर्माण गरेको सस्पेन्सन ब्रिज डिभिजनले बागलुङमै अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।
बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नाङ्लीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, बिस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार भएपछि झोलुङ्गे पुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।
कालीगण्डकीमाथी ५ सय २४ मिटर लामो र १ सय ७२ मिटर उचाईमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समुहले स्थलगत अध्ययन गरेको छ । ‘हामी पुल निर्माणको लागि ठेक्का प्रक्रियामा जाँदैछौं, प्रभावित क्षेत्रमा विवाद रहे नरहेको र कन्सल्टेन्टले काम गर्दा स्थलगत अवलोकन गरेनगरेको बिषयमा जानकारी लिएका छौं’ इञ्जिनियर टोपबहादुर बानियाँले भने ‘यो नेपालमा सिंगल स्पान प्रबिधिको दोस्रो लामो पुल हो ।’ प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुने उनले बताए ।
पुल निर्माणका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेको छ । ठेक्का लागेको दुई बर्षमा पुल तयार हुनेछ । ‘बागलुङमा संसारकै लामो पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन्’ बानियाँले भने ‘प्रविधि त्यहिं हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सक्दा समयमै पुल बन्छ ।’
यो पुल निर्माणका लागि नगरपालिकाले पहल गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘बजेट विनियोजन भैसकेपछि पनि काममा ढिलाई भएकाले खबरदारी गरिरहेका थियौं’ पौडेलले भने ‘डिभिजनको समुहले स्थलगत अध्ययन गरेकाले अब काम छिट्टै अघि बढ्छ ।’
पुल निर्माण भएपछि पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणलाई बागलुङ बजारको पहुँचमा ल्याउन सहज हुनेछ । नागलीबाङमा उत्पादन हुने तरकारी बागलुङ बजार ल्याउन, पञ्चकोट, शालग्राम संग्रहालय र बागलुङ कालिका लगायतका ठाउँमा पर्वतका सर्वसाधारणलाई आवतजावत गर्न र बागलुङका सर्वसाधारण पर्वत जान सहज हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुव बहादुर केसीले बताए ।
यो पुल बनेपछि घण्टौं लाग्ने बाटो १० मिनेटमा छोटिने छ । पर्वतको नागलीबाङका सर्वसाधारणलाई बागलुङ आउन र बागलुङबाट जलजला गाउँपालिका जानका लागि कालीगण्डकीले बनाएको खोँचमा आवतजावत गर्नुपर्ने बाध्यता थियो । बागलुङको बलेवा नारायणस्थान र पर्वत सदरमुकाम कुश्मा बजार जोड्नेगरी अर्को लामो पुलको अध्ययन भैरहेको नगरप्रमुख पौडेल बताउँछन् ।





