बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने

विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७८, शुक्रबार

पोखरा÷कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने तय भएको छ । फागुन १३ गतेदेखी सुरु हुने महोत्सव फागुन १६ गतेसम्म चल्नेछ ।

महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो ।

छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहनुभएका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

‘फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिन नाटक मञ्चन गरिनेछ’ उनले भने ।

अन्तिम चरणका लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यामिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक रहेका छन् ।

कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शिर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।

लमजुङ जिल्लाबाट दुईवटा नाटक छनोट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शिर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शिर्षकको नाटक रहेका छन् ।

तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो छनोट भएको छ ।

यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शिर्षकको नाटक अन्तिम छनोटमा पर्न सफल भएको छ ।

म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शिर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गर्नु भएको छ ।

बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शिर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शिर्षकको नाटक छनोटमा परेको छ । मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गर्नुभएको छ ।

नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->