बागलुङ/ गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ । नेपालका लागि नौलो संचना प्रदेश सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन् । प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रीत रह्यो ।
साविकको धौलागिरी अञ्चलको मुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पतालको कुशल व्यवस्थापन र कोरोना महामारीका बेला अस्पतालले निभाएको भूमिका प्रदेश सरकारको देखिने महत्वपूर्ण काम हो । उप–प्रादेशिक अस्पतालको रुपमा विकास भइरहेको धौलागिरी अस्पतालमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बागलुङकी पहिलो र दोस्रो तथा नेपालकै पाँचौं र छैटौं कोरोना संक्रमितलाई अस्पतालमै पुगेर भेटे । लामो समय अलपत्र रहेको अस्पतालको ‘बि’ ब्लकको हस्तान्तरण र प्रयोग, कोरोना जाँच प्रयोगशाला स्थापना, सघन उपचार कक्ष, लिफ्ट स्थापना, बगैंचा, पानी, फोहोरको व्यवस्थापन र अन्य भौतिक संरचनामा भएको सुधार धौलागिरी अस्पतालमा प्रदेश सरकारले गरेको देखिने काम हो ।
सडक पूर्वाधारमा पनि बागलुङमा प्रदेश सरकार देखिएको छ । २०५४ सालमा ट्रयाक खुलेको, पटक–पटक स्तरोन्नति भएर पनि कालोपत्रे हुन नसकेको बागलुङ कुश्मीशेरा सडकको कालोपत्रे गर्न प्रदेश सरकारको भूमिका रहयो । उक्त सडकको पाग्जादेखि सरंगेसम्मको १० किलोमिटर खण्ड यो चार वर्षको बिचमा कालोपत्रे भएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्ने यो सडक कालोपत्रे हुँदा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका तथा यो सडकहुँदै गुल्मी र पर्वतको दक्षिण जाने यात्रुका लागि सहज भएको छ ।
२४ वर्षसम्म जस्ताको त्यस्तै रहेको यो सडकमा भएको कालोपत्रेले प्रदेश सरकारको काम मात्रै देखाएको छैन् यहाँका राजनीतिक दल, नेता र सरोकारवालको नाक छोपिदिएको छ । २९ करोड लगानी भएको यो खण्ड कालोपत्रे हुँदा बागलुङ कुश्मीशेरा २१ किलोमिटर खण्डमा अब सहजै यात्रा हुन्छ । बाँकी सडक सडक विभाग, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रम र संघीय निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट कालोपत्रे भएको छ । बाँकी रहेको एक किलोमिटर सडक पनि प्रदेश सरकारले कालोपत्रे गर्ने आशा सर्वसाधारणमा छ ।
बागलुङ नगरपालिका–४ कुँडुले फेदीदेखि काठेखोला गाउँपालिका–३ धम्जा जोड्ने सडकको ट्रयाक खुलेको छ । जिल्लामा महत्वपूर्ण मार्गको रुपमा लिईएको यो सडक बनाउँदा प्रदेश सरकारले ४१ करोड रुपैयाँ खर्चेको छ । यो सडकले चार वर्षमा प्रदेश सरकारले गरेका कामको प्रतिनिधित्व गर्छ । अन्य केही महत्वपूर्ण र जनताका लागि उपयोगी सडक तथा सडक पुलहरु पनि प्रदेश सरकारले निर्माण गरेको छ ।
पर्यटनको क्षेत्रमा शालग्राम संग्राहलय प्रदेश सरकारको देखिने काम हो । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा निर्माण भएको भूमिगत संग्रहालयमा प्रदेश सरकारले बिभिन्न चरणमा ३ करोड बढी बजेट खर्चेको छ । धार्मिक, पौराणिक र प्रकृतिको संरक्षण गर्नका लागि निर्माण भएको संग्राहलय नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।
मुख्यमन्त्री कृषि नमुना गाउँ, त्यहाँ सञ्चालित कार्यक्रमबाट किसानले गरेको आम्दानी र सफलताका कथा प्रदेश सरकारका देखिने काम हुन् । कृषि ज्ञान केन्द्रमार्फत निर्माण भएका शितभण्डार, आलु सुन्तलाको भण्डारणमा सहयोग, परम्परागत बालीहरुको संरक्षणमा सक्रियता र आधुनिक खेती प्रणालीमा किसानलाई रुपान्तरित गर्ने काम समेत प्रदेश सरकार गठन पछि भएका छन् । कृषिमा आधुनिकीकरण र शिक्षामा सहजी करण र स्वास्थ्यमा साझेदारी तथा पूर्वाधारमा लगानी भैरहेको छ ।
आधारभुत तहको खानेपानीको पहुँच विस्तार, विद्युतिकरण र पशुपालनका क्षेत्रमा भैरहेका कामहरुमा समेत प्रदेश सरकारको उपस्थिती देखिने गरेको छ । विपत्को व्यवस्थापन र राहत तथा उद्धारमा सरकार देखिने गरी उपस्थित छ ।





