शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

जीर्ण भवन फेरेर विद्यालयको पक्की भवन

जीर्ण भवन फेरेर विद्यालयको पक्की भवन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०७८, शुक्रबार

बागलुङ/ भूकम्पले चर्केपछि विद्यालय भवन जीर्ण थियो । बालबालिका पढ्न जोखिम भएपछि लामो समयसम्म भुईँमै पढाइयो । चौरमा राखेर पढाउँदा वर्षात्मा झरी र हिउँदमा चर्को घामको दुःख थियो । तर अहिले विद्यालय भवन बनेपछि सजिलो भएको छ ।
तमानखोला गाउँपालिका वडा नंं २ को जनज्योती आधारभूत विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेको छ । भूकम्प पुननिर्माण प्राधिकरणले तीन वर्षअघिनै ७० लाख ४० हजार लगानी गरेर भवन बनाएको हो । यो भवन बनेपछि बालबालिका सुरक्षित भवनमा पढ्न पाएको प्रधानाध्यापक भविन्द्र पुनले बताए ।

प्राधिकरणले चारकोठे भवन बनाए पनि १ सय ५३ विद्यार्थी पढ्ने यो विद्यालयमा कक्षाकोठा अभाव भएपछि गाउँपालिकाले फेरी २२ लाख लगानी गरेर माथिल्लो तलामा ४ कोठा थप गरिदिएको छ । गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट भवन बनाएपछि बल्ल बिद्यालयमा सुविधा थपिएको हो । अझै दुइ कोठा आवस्यक परेको पुनले बताए ।

‘अपांगमैत्री शौचालय, राम्रो र पक्की भवन बनायौं, तर कक्षाकोठा अझै पुगेन’ उनले भने, ‘गाउँपालिकामा यो समस्या राखेका छौं, अहिले कक्षा नपुगेर बारेर पढाएका छौं ।’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले विद्यालयमा पर्याप्त कक्षा कोठा पु¥याउन पालिकाले साथ दिने बताए ।

गाउँपालिकाले विद्यालयमा अतिरित्त शिक्षकको व्यवस्थापनमा पनि साथ दिएको छ । उक्त विद्यालयमा पनि एक जना आधारभूत तहको कम्प्युटर शिक्षक र एकजना अंग्रेजी माध्यमको शिक्षक व्यवस्थापन गरेको बुढाले बताए । ‘आधारभूत तहबाटै गुणस्तरीय शिक्षा पाउनु पर्छ भनेर थालनी गरेका हौं’ बुढाले भने, ‘गाउँपालिकाले तलबभत्ता भरेर शिक्षक पठाएको हो ।’ दरबन्दी मिलानमार्फत शिक्षकको पदपुर्ती भएपनि कम्प्युटर र अंग्रेजी शिक्षकलाई निरन्तरता दिने उनले बताए । तमानका अधिकांस विद्यालयमा अझैपनि दरबन्दी अनुसारका शिक्षक भने पुगेका छैनन् ।

फेरी नयाँ भवन बनाउने भन्दा विद्यालयले माथिल्लो तलामा ट्रष्ट बनाउने निधो गरेको छ । आर्थिक भार कम पर्ने र हिउँसमेत पर्ने स्थान भएकोले ट्रष्ट भए हिउँ नजम्ने पुनले बताए । ‘भवन धेरै बनाएमा खेल मैदान जोगाउनै सकिंदैन, त्यसैले भवनकै माथि थप्ने योजना छ’ उनले भने, ‘रड र सिमेन्ट ढुवानीमा पनि समस्या आउँछ ।’ भौगोलिक रुपमा कठिन भएकोले सामान ढुवानी अप्ठ्यारो छ । यो विद्यालयमा खेलमैदान पनि सानो छ ।

यहाँबाट उत्तिर्ण हुनेले बोङ्गादोभानसम्म पुग्नुपर्छ । कक्षा ९ र १० का लागि बोङ्गादोभान पुग्न कम्तिमा २ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय चुडामणी छन्त्यालले बताए । ‘बाटो अप्ठ्यारो छ, केटाकेटी पुग्छन् की पुग्दैनन् भन्नु पर्ने अवस्था छ’ छन्त्यालले भने, ‘बालबालिकाको सुरक्षाका लागि पनि सडक राम्रो चाहिएको छ ।’ सुरक्षित सिंढी मार्ग भएमा बालबालिकालाइ बिद्यालय सम्म पुग्न सहज हुने उनले बताए ।

गाउँपालिकाले विद्यालयका विद्यार्थीकै लागि केही स्थानमा भने पदमार्ग बनाएको छ । रेलिङसमेत राखेर बोङ्गादोभानदेखि स्याउला गाउँ जानेतर्फ सिंढी मार्ग बनाएको वडा नं. २ का अध्यक्ष मिनबहादुर घर्तीले बताए । यो सडकले बालबालिका लड्ने, घाइते हुने जोखिम कम भएको विद्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->