पोखरा/ फेवातालसहित मापदण्डको विषयमा बारम्बार फिर्केखोलाको पनि चर्चा भइरहन्छ । अतिक्रमणको चपेटामा परेर खोलाबाट ‘नाली’मा परिणत हुन लागेको भन्दै सरोकारवाला निकाय आवाज उठाइरहन्छन् । तर, लामो समयसम्म समस्याको हल हुन सकेको छैन ।
पोखरा महानगर वडा २, ४, ५, ८, ७, ६ र १७ सम्म फैलिएको खोलाको आसपास अतिक्रमणका कारण पुरिइँदै जाँदा खोलाको अस्तित्वसमेत नामेट हुने खतरा बढिसकेको छ । खोला किनार व्यक्तिले मात्रै नभई विभिन्न संघसंस्था लायन्स भवन, लिटिल स्टेप बोर्डिङ स्कुल, बहिरा संघ भवन, इलेक्ट्रिक एसोसिएसन कार्यालय लगायतले भवन नै बनाएर फिर्के अतिक्रमण गरेका छन् ।
अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन् । फिर्केमा बनेका संरचनामा सरकारी एव गैरसरकारी संघ संस्थादेखि नामी व्यक्तिसमेत छन् । उक्त क्षेत्रमा १ सय ९२ घरटहरा मापदण्ड विपरीत छन् । सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघसंस्था छन् । यस भित्र कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएका छन् ।
८ किलोमिटर लम्बाइ रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । फिर्के अतिक्रमणप्रति राज्य निरीह देखिएको र अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिएको नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन् ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले अख्तियार कार्यालय र प्रशासन कार्यालयमा फिर्के खोला अतिक्रमण रोक्का गरिपाउँ पनि निवेदन समेत दिएको संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनले प्रमुख जिल्ला अधिकारी र अख्तियार कार्यालयबाट छानविन हुने आस्वासन पाएको बताए । उनले पोखरा महानगरपालिकालाई पटक–पटक जानकार िगराउँदा समेत गम्भीरतापूर्वक नलिएको भन्दै आवश्यक छानविनको समेत माग गरिएको उनले बताए ।





