बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले मंगलबार दुई जना न्यायाधीशलाई बिदाइ गरेको छ । उच्च अदालतका न्यायाधीश मुनिन्द्रप्रसाद अवस्थी र सुर्दशनराज पाण्डेलाई बिदाइ गरेको हो । अवस्थी उच्च अदालत राजविराजमा तथा पाण्डे उच्च अदालत पाटन सरुवा भएपछि बिदाइ भएका हुन् ।
न्यायाधीश आउँदा स्वागत गर्ने र सरुवा भएर जाँदा बिदाइ भएर जाने पद्धतिअनुसार उनीहरुको बिदाइ गरिएको हो । गत साता बागलुङमै मुख्य भई काम गरेका द्वारिकामान जोशी निवृत्त भएका थिए । उनी उमेर हदले निवृत्त भएका थिए ।
त्यसअघि एक महिनाअघि यहाँकै न्यायाधीश श्रीकान्त पौडेल र शालिग्राम कोइराला विशेष अदालत सरुवा भएका थिए । ५ जना न्यायाधीश भएको उच्च अदालतका सबै सरुवा र निवृत्त भएपछि अदालत खाली भएको छ । जिल्लाबाट सरेका मुद्दाहरु आउने अदालत भएपनि अर्को व्यवस्था नभएसम्म इजलास बस्ने अवस्था नभएको हो । इजलास नबस्दा कतिपय मुद्दाको फैसलामा समस्या आउन सक्ने टिप्प्णी भएको छ ।
न्याय परिषदले सरुवा गरेका न्यायाधिसहरु आउने अत्तोपत्तो छैन । मुख्य भई काम गर्न खटाइएका कृष्ण गिरी अर्को साता मात्रै आउने भएको अदालत स्रोतले बतायो । अन्य न्यायाधीश को–को आउने भन्ने यकिन भइसकेको छैन । ५ जनाको दरबन्दीमा शून्य हुँदा अदालतमा केही मुद्दा मामिला मात्र नभई अन्य काममा पनि नौलो लागेको एक कर्मचारीले बताए ।
सर्वोच्च अदालतबाट अनुगमनको क्रममा एकदुई दिनमै वरिष्ठ न्यायाधीशहरु आउने तयारी छ । तर न्यायाधीश नभएपछि कर्मचारीले मात्रै स्वागत गरेर जानकारी गराउने अवस्था आएको ती कर्मचारीले जानकारी दिए ।
अदालतमा अत्यावस्यक पर्ने मुद्दा रजिष्ट्रारले हेर्ने प्रचलन छ । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा भने न्यायाधिस आएपछि मात्रै सुनुवाइ हुनेगरी अदालते केही मुद्दा फैसला यसअघिनै बढाएको थियो । हाल अदालते तुलनात्मक अघिल्ला वर्षभन्दा बढी मुद्दा फैसला गरिसकेको छ ।
मंगलबारको बिदाइ कार्यक्रममा वरिष्ठ अधिवक्रा पदमनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे, अधिवक्ता हरिप्रसाद शर्मा, काजी गाउँले श्रेष्ठ, सरिता केसी र बलराम शर्माले बोलेका थिए ।





