‘पहिले हामीले डहर भन्थ्यौं, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौं । सवारी कुद्ने सडक मात्रै सबैकुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटोहरु मर्मत र पुननिर्माण गरेका छौं ।’
बागलुङ/ दश वर्षअघिसम्म बागलुङको काठेखोला गाउँपालिका, २ भीमापोखराका सबै टोलमा गोरेटो बाटो थिए । जब गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो मानिस र गाईबस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थाले ।
बनेका सडक विस्तार होस् वा नायाँ बन्ने सडक किन नहुन् ? सबैको पहिलो प्रहार बन्यो, गोरेटो बाटो । थोरै भएपनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने, र बिना स्टमेट बन्ने सडकका लागि पहिलेकै गोरेटो पदप्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरे । तर, अहिले तिनै गोरेटाहरुको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।
सडक सबैका घर घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ति र मलामी जाँदा होस् हिउँदमा हिलाम्मे र बर्षाको समयमा धुलाम्मे हुने सडकले अहिले पुराना गोरेटाहरुको याद दिलाउँछन् । भीमापोखरा मात्रै होइन, बागलुङ जिल्लाभर रहेका अधिकांश वडामा रहेको समस्या हो यो ।
गोरेटोबाटो मासिँदा गाउँले जीवन प्रभावित भएपछि भीमापोखराले मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो दुई वर्षमा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको वडाले जनाएको छ ।
‘हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ,’ स्थानीय सविना शर्माले भनिन्, ‘पहिलै मास्न हुन्थेन, अहिले भएपनि बनेका छन् ।’
सडक बनाउँदा गोरेटो काटेर बनेका अग्ला कान्ला र माटो भरिएर बनेको भीमा स्थानीयले कष्टले यात्रा गर्ने गरेका थिए । अप्ठेरो छिचोलेर पुरानो गोरेटोमा पुग्दा मानिसहरुको आवतजावत कम भएकाले गोरेटोमा जंगल भरिएको थियो ।
‘पहिले हामीले डहर भन्थ्यौं, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामिले देखेका छौं,’ वडाअध्यक्ष विद्यापति शर्माले भने, ‘सवारी कुद्ने सडक मात्रै सबैकुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटोहरु मर्मत र पुननिर्माण गरेका छौं ।’
सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनालेनै पुराना संरचना पुनःनिर्माण गर्नुपर्ने व्यवस्था छ । तर, उपभोक्ता समितिमार्फत बन्ने सडक हुन वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन ।
‘सहरको जस्तो अवस्था गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ,’ शर्माले भने ‘मेलापात, जन्ती, मलामी, ओल्लो गाउँ पल्लो गाउँ गर्ने बाटाहरु समेत नभएकाले हामिले गोरेटो पुन निर्माण थालेका हौं ।’
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि मजदुरहरुको प्रयोग गरेर वडाले गोरेटोबाटो निर्माण गरेको छ । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै कामपनि गर्नसक्ने र परिणाम पनि राम्रो आएको वडाअध्यक्ष शर्माको बुझाइ छ । धमाधम टोल टोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुनथालेपछि स्थानीय हर्षित छन् ।





