बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महिनावारी सम्बन्धी डकुमेन्ट्री अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा छनोट (भिडिओ सहित)

महिनावारी सम्बन्धी डकुमेन्ट्री अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा छनोट (भिडिओ सहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा – महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियान: वर्जित मान्यतासँग सामना’ जर्मनीमा १-३ जुलाई, २०२२ मा हुने १८ औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ।

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन्। सन् २०१० मा भिडिओ एडिटररएनिमेटरका रुपमा आफ्नो करियर सुरु गरेका उनले एक सय भन्दा बढी टेलिभिजन कमर्सियल, डकुमेन्ट्री र पीएसएको निर्देशन गरिसकेका छन्।

यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत हुन्।

यो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो। यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ।

पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीमा वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन्। जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरु कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ।

विद्यालय पाठ्याक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ। महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ।

सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउगोठमा बस्नुपर्ने बाध्यता छ। समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भन्दै थुप्रै बन्देज एवम् निषेध गर्ने व्यवहारहरु हुने गरेका छन्। यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो।

यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेसनल वुमन्स फिल्म फेस्टिवल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिवल, २०२२ मा पनि छनोट भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->