बागलुङ/ स्थानीय तहको निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बागलुङ लगायतका छ वटा जिल्ला प्रहरी कार्यालयलाई पुरस्कृत गरेको छ । निर्वाचनको समयमा सुरक्षा व्यवस्था चुस्त राख्दै नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गरेको भन्दै प्रहरी कार्यालयका प्रमुखहरु पुरस्कृत भएका हुन् ।
बागलुङ जिल्लाका प्रहरी प्रमुख दयानीधि ज्ञवालीलाई १ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत हुने जिल्लाहरुमा छिमेकी जिल्ला पर्वत, कास्की, स्याङ्जा र गोरखा लगायतका जिल्ला रहेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङले स्थानीय तह निर्वाचन–२०७९ हालसम्मकै नमुना निर्वाचन भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सुरक्षाका दृष्टिले अहिलेसम्म उत्कृष्ट वातावरण सिर्जना भएको उल्लेख गरेको हो । जिल्लामा भैरहेका आपराधिक घटना कम गर्न र चोरी तथा लागुऔषधको क्षेत्रमा अनुसन्धान गर्न छुट्टै सेल खडा गरेको ज्ञवालीले जानकारी दिए ।
‘हामी जनताको नजिकै रहेर काम गरिरहेका छौं’ उनले भने ‘सूचनाको पहुँचमा जनता हुँदा अपराध आधा कम हुन्छ ।’ पत्रकार भेटघाटमा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जिल्लाभर नागरिकसँग मिलेर प्रहरीले काम गरिरहेको बताए । प्रहरी निरीक्षक भुपेन्द्र गिरीले चोरीका घटनामा कमी ल्याउन नागरिक सचेत बनेर प्रहरीलाई सूचना दिनुपर्ने बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले कानून बिपरीतका गतिबिधि सडकमा कमी आएको दाबी गरे ।





