बागलुङ/ बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु भएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयपछि नगरपालिका भरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिए ।
उनले सबै प्रअलाई आफ्नो बिद्यालय भित्रका शैक्षिक क्रियाकलापका सूचक पुरा गर्न आग्रह गरे । ‘यसअघि निर्णय हुन्थ्यो, पुस्तिकामा रहन्थ्यो, अब निर्णय बाहिर आउँछ’, श्रेष्ठले भने, ‘पूर्वाधार सहितका काममा नगरपालिकाले काम गर्छ, शैक्षिक सुधारमा प्रअ, शिक्षक र अभिभावक मिलेर अगाडि बढ्नुहोस् ।’ उनले नगरपालिकाका १ सय ३ वटै विद्यालय बालमैत्री बन्नुपर्ने धारणा राखे ।
नगरपालिकाले बिद्यालय क्षेत्र सुधारकालागि प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता पनि गरेको छ । सम्झौताका २४ बुँदामा शिक्षकको पेशागत प्रगतीसहित बिद्यार्थीको शैक्षिक गुणस्तर बढाउने कार्यक्रम समावेश छन् । बिद्यालयको वार्षिक कार्ययोजना निर्माण गरी व्यवस्थापन समितिबाट पारित गर्ने, सबै काम र निर्णय अद्यावधिक गर्ने, भर्ना दर शतप्रतिशत पु¥याउने, सिकाइ उपलब्धी उच्चतम बनाउने लगायतका सूचक करारमा उल्लेख छ ।
त्यस्तै छात्रवृत्ति प्रदान, समुदायसँगको सम्बन्ध सुधार, हरेक महिना शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र श्रोतव्यक्तिको बैठक गर्ने, स्वीकृत पाठ्यक्रम लागू गर्ने, अभिलेखीकरणलाई चुस्त बनाउने र बिद्यालयको लेखा परीक्षण तोकिएको परीक्षकबाट गर्ने र चुस्त स्रेस्ता राख्ने सहमति भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
आइतबार नेपाल सरकारले बिदा दिएपनि बागलुङ नगरपालिकाभरका प्रअ, जनप्रतिनिधि र कर्मचारी मिलेर खुलाउने निर्णय गरेका छन् । सो निर्णय नगरपालिकाले कार्यान्वयनमा ल्याउने श्रेष्ठले बताए । बिद्यालयको अचल सम्पत्ति देख्ने गरी बिद्यालयमा संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्विकृति बिना शिक्षकहरु बाहिर वा नगरपालिका नजाने निर्णयसमेत भएको हो ।
तीन बर्षसम्म लगातार १५ प्रतिशत बिद्यार्थी अनुत्तीर्ण भएमा सो बिषयको शिक्षकलाई स्पष्टीकरण सोध्ने र कारवाही स्वरुप २ बर्षसम्म तलबवृत्ति रोक्का गर्ने भेलाले निर्णय गरेको छ । जंकफुड नियन्त्रण, फोहोर व्यवस्थापनमा सक्रियता र बिद्यालय शान्ति क्षेत्र अभियानलाई फेरी पूर्णता दिने निर्णय समेत भएको हो । शान्ति क्षेत्र पालना गर्न राजनीतिक क्रियाकलाप बिद्यालय हातामा नगर्ने, जोखिमका प्रयोगहरु नगर्ने, बालबालिका रमाएर पढ्न पाउने व्यवस्था गर्ने जस्ता क्रियाकलाप छन् ।
बिद्यालय क्षेत्र सुधार गर्दा हरेक विद्यालयमा कम्तिमा ५० वटा गमलामा बहुवर्षिय फूल रोप्ने, सरसफाई नियमित गर्ने र विद्यालयमा जेण्डर फोकल पर्सन तोक्ने निर्णय भएको हो । यस्तो व्यक्ति तोक्दा महिला शिक्षक हुनुपर्ने प्रावाधन बनेको पोखरेलले जानकारी दिए ।
करार सम्झौतामा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र हरेक बिद्यालयका प्रअले हस्ताक्षर गरेका छन् । त्यो बाहेक बालमैत्री नगर र बालमैत्री बिद्यालय बनाउन आवस्यक पर्ने सूचकहरु पुरा गर्न सामूहिक प्रयास गरिने बताइएको छ ।
सूचकमध्ये विद्यालयमा बन्ने धारादेखि शिक्षकको आनीवानी र व्यवहारसमेत बालमैत्री हुनुपर्ने उल्लेख छ । नेपाल सरकारले तोकेका ५१ वटा बुँदा पुरा गरेपछि नगर, जिल्ला र केन्द्र स्तरीय अनुगमनले दिने प्रतिवेदनको आधारमा मात्रै बालमैत्री क्षेत्र घोषणा गर्न पाइने प्रावधान छ । बालमैत्री नगर बनाउन अभिभावकको सोच र व्यवहारमा पनि परिवर्तन आवस्यक छ ।
शुक्रबार नगरभित्रका १ सय ३ विद्यालयका प्रअको भेला र कार्यशाला समेत सम्पन्न भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको संचालन र शिक्षा अधिकृत गौरव राना मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





