पोखरा/ नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ । सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने संघकी अध्यक्ष विनिता आले मगरले जानकारी दिइन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मगर संघको जिल्ला कार्यालय पृथ्वीचो रंगशाला अघिदेखि सांस्कृतिक ¥यालीसहित सभागृहमा आएर महाधिवेशन गर्ने बताइन् ।
‘नेपाल मगर महिला संघ असोजमा २३ वर्षको पुग्दैछ । यसै परिवेशमा नेपाल मगर महिला संघले आफ्नो सांगठनिक इतिहासमा ७ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको हो’,उनले भनिन् । उत्पीडितहरुको पक्षमा आन्दोलनको समीक्षा, आरक्षण बचाउ आन्दोलन समीक्षा, मगरात आन्दोलनको रणनीति, लैगिंक हिंसा र समानताको आन्दोलनको रणनीति र विशेषगरी मगर महिलाहरु तेहोरो रुपमा विभेदमा परेको विषयलाई उठान गरि रणनीतिक योजना बनाउनेमा महाधिवेशन केन्द्रित हुने उनको भनाइ छ ।
यस्तै १० वर्षे सशस्त्र जनयुद्धले आदिवासी जनजाति, मगरात, थरुहट, मधेश, दलितलगायतको पहिचान लगायतका मुद्दा उठाइए पनि हाल राजनीतिक दलहरुले ती मुद्दा छाडेकोमा उनले असन्तुष्टि जनाइन् । उनले पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई सुक्ष्म समीक्षा र विश्लेषण गर्दा उत्पीडित र उपेक्षित क्षेत्र र वर्गका पक्षमा प्रमुख दलहरु नभएको अनुभूति भइरहेको बताइन् । ‘पछिल्ला समय हाम्रो पहिचानका आन्दोलनहरु पनि फितलो भइरहेका छन् । पहिचानको पक्षमा आन्दोलन हुँदै गर्दा त्यहाँ राजनीतिक दलहरुको समर्थन भएको पाउँदैनौँ’, उनले भनिन् ।
महाधिवेशनमा सात प्रदेशका ५६ जिल्ला प्रतिनीधि, विदेश शाखा, विदेशका महिला प्रमुख तथा महिला विभाग प्रतिनिधि र पर्यवेक्षक गरी २५० जनाको सहभागिता रहने संघकी महासचिव धनकुमारी रानामगरले जानकारी दिइन् ।





