बागलुङ/ लामो समय सरकारी र सामाजिक सेवामा सक्रिय भएका बानपा–३ रात्माटाका कविन्द्रप्रसाद शर्मा सापकोटा बसाइ सरेर काठमाण्डौ पसेपछि धेरैले गाउँ रित्तो हुने डर मानेका छन् ।
गाउँका युवालाई काम गर्न सुझाव दिने, गाउँमै रमाउनु पर्छ भन्ने मान्यता उनमा थियो । छोराबुहारीको आग्रहपछि उनी काठमाण्डौ सर्दा अरु युवा पनि सर्दै जाने जोखिम बढेको स्थानीय बैकुण्ठ सापकोटाले बताए । ‘मैले त गाउँ छाड्ने योजना बनाएको छैन, तर धेरै युवा सहर पसे, बुढापाकाले पनि पेन्सन आएपछि काठमाण्डौंमा घर किनेर हिँडे’, उनले भने, ‘पहिलाको जस्तो खेतीपाती पनि छैन, कमाइ गरिदिने मानिस पनि छैनन् ।’ उनले गाउँको खेतसमेत बाँझीएको बताए ।
कबिन्द्रको मात्र हैन, बागलुङ बजारबाट १० मिनेटमै पुगिने रात्माटाका दर्जनौं घर रित्तो छन् । रात्माटयाकै गणेश पौडेल सदरमुकाम झरेर बसेका छन् । बजारमा बनाएको घरमा बस्न थालेपछि पौडेलका परिवार पनि आउनै छाडे । स्थानीय टिकाराम सापकोटाले त घरै बेचेर हिँडेको दशक भयो । उनको घरमा बस्नेले पनि छाडेर अहिले जीर्ण छ ।
सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट ४ किमी दुरीको रात्माटामा अहिले दर्जनौं घर खाली भैसकेका छन् । ‘मैले चिनेका १३ जनाको घर रित्तो छ, ५ वटा घरमा बुढाबुढी मात्रै छन्’ बैकुण्ठ सापकोटाले भने, ‘भएको खेतबारी पनि बाँझै छ, केहीले घरबारी सबै बेचेर हिँडेका छन् भने कतिपयको बेचबिखन भएको छैन ।’
यहाँका मानिसहरु केही बसाइ सरेर गए । धेरैजसोले बजारमा व्यवसाय गर्छन् कतिपय जागिरमा छन् । बसाइ सरेकाहरु त फर्केनन्, जागिरमा गएकाहरु समेत गाउँमा देखिन छाडेपछि गाउँ सुनसान बन्दै गएको छ । खेतीपाती राम्रो उत्पादन हुने जमिनहरु बाँभिन थालेका न् । एकादुइ कर्मचारी बागलुङ बजार आउजाउ गर्छन् । सरकारी जागिर खाएकाहरु अधिकांस सहरमै बस्छन् । ‘व्यवसाय गर्नेले गाउँ बिर्सिसके, एकादुई कर्मचारी जागिरमा आउजाउ गर्छन्’ स्थानीय दिपेश पौडेलले भने, ‘हाम्रो गाउँ पढेलेखेकाहरुबाटै रित्तिएको हो ।’ गाउँ रित्तो हुँदा कोही बिरामी परेमा उपचारमा लैजान समेत समस्या पर्ने उनले गुनासो गरे ।
रात्माटाको पहिलो पुस्ता सरकारी जागिरले सहर बस्न थालेबाटै बसाइसराइको क्रम शुरु भएको थियो । अहिलेका युवा भने बिदेश हानिएका छन् । कोही लाखौं खर्चेर अमेरिका पुगे, कोही खाडी मुलुकमा छन् । सबैले अब गाउँ छाडेर अन्यत्र बस्ने तयारी गर्दैछन् । स्थानीय भरत सापकोटाका भन्छन्, ‘धेरै पढेलेखेका भएर हाम्रो गाउँ रित्तियो ।’ नपढेकाहरुले खेतीपाती गरेर बसेगाउँ रित्तो नहुने उनले टिप्पणी गरे ।
‘जागिर नखाएकाहरु कुखुरा पालेर भएपनि बसेका छन्, जागिर खायो भने गाउँनै बिसियो भयो’ उनले भने, ‘नपढेकाहरुले केही न केही गरेर बसेका छन् ।’ यहाँको डुवाटे ढुंगामा मात्रै १० घर खाली भएको उनले बताए । कतिपयले अझै काठमाण्डौंमा घर बनाउन थालेकोले बसाइ सर्ने निश्चित भैसकेको हो ।
रात्माटामा नगरपालिकको कार्यालय बस्छ र हराभरा हुन्छ भन्ने विश्वास गुमेपछि धेरैले बसाइसराइ गर्न थालेका छन् । ४ बर्षअघि नगरपालिका बजारमा सरेपछि यहाँका मानिसले घरबार बेच्ने क्रम बढाएका हुन् ।
बिदेश र सहर नरोजेका बिजय शर्माले जागिर खाने रहर गरेनन् त्यसैले उनी कुखुरा पालेर राम्रो कमाइ समेत गरेका बसेका छन् । रोजगारी सिर्जना गर्ने, खानेपानी र स्वास्थ्यको व्यवस्था गर्ने र इन्टरनेटको सेवा बिस्तार गरेमा बसाइसराइ रोक्न सकिने शर्माको तर्क छ । ‘लाहुरे, मुखिया र साहु बस्दा किसानलाई ऋण पाउने आश थियो, उनीहरु उठेर गएपछि अरुपनि हिड्न थालेका छन्’ शर्माले भने, ‘गाउँका अगुवाले घर छाड्दा आश्रितहरुपनि विस्थापित हुने रहेछन् ।’





