बागलुङ/ आगामी असार दश गतेसम्म बागलुङका सबै स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट ल्याउँदैछन् । स्थानीय सरकार गठन पछिको दोस्रो कार्यकालको सुरुवात गरेका जनप्रतिनिधिले ल्याउन लागेको यो पहिलो बजेट हो । नीति कार्यक्रम र बजेटमा आशा, गुनासा र टिप्पणीहरु सुरु भएका छन् ।
स्थानीय तहले बनाउने कार्यक्रम र बजेटमा अनेक तरिकाबाट मूल्याङ्कन र टिप्पणी हुने गरेको छ । बागलुङका स्थानीय तहले विगतमा निर्माण गरेका नीति तथा कार्यक्रम र बजेटमा मानवअधिकार प्राथमिकतामा नपरेको विषयमा गुनासोहरु आउन थालेका हुन् ।
सडक र भवन बनाउने कामलाई मात्रै बिकास भएको मान्ने धारणा कारण मानवीय विकास हुन नसकेको सरोकारवालाहरुको गुनासो छ । ‘मानवीय विकासभन्दा डोजरे विकासमा स्थानीय तहको ध्यान छ’ मानवअधिकार समाज गण्डकी प्रदेश सदस्य लक्ष्मी जिसी कार्कीले भनिन् ‘संविधानले व्यवस्था गरेका, कानून बनेका बिषयमा नजिकको सरकारले ध्यान दिनुपर्छ ।’ मानवअधिकारको रक्षाका लागि सरकारले कार्यक्रम बनाएर कार्यान्वयन गर्दा मात्रै मानव अधिकारको रक्षा र प्रबद्र्धन हुने उनले बताईन् ।
‘स्थानीय तहले काम गरेर देखाउने नै हो भने मानवअधिकारको क्षेत्रमा पहिलो काम समान श्रमको समान ज्याला कायम गरेर देखाउन जरुरी छ’ उनले भनिन् ‘व्यवस्थाले मात्रै मानव अधिकारको रक्षा हुँदैन्, व्यवहार र अवस्था परिवर्तन हुनुपर्यो ।’
मानवअधिकारको संरक्षण र सम्बर्धनका लागि सञ्चारकर्मीको भूमिकाका बिषयमा पत्रकार महासंघ बागलुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिले सफा पानी पाउने, स्वच्छ हावा पाउने जस्ता नागरिकका नैसर्गिक अधिकारबाट समेत सर्वसाधारण बञ्चित भएको भन्दै स–साना कामबाट प्राप्त हुने मानब अधिकारका लागि स्थानीय सरकार जिम्मेबार बन्नुपर्ने बताए ।
‘जातिय विभेद, लैंगिक बिभेद जस्ता जघन्य मानवअधिकार उलंघनका घटना रुपान्तरित भएका छन्’ अधिबक्ता राम शर्माले भने ‘आज महिलामाथी हातपात हुँदैन्, लाउन खान नदिने भन्ने हुँदैन् तर श्रीमतिसँग बसेको श्रीमानले परस्त्रीसँग फोन सम्पर्क गरेर श्रीमतीलाई मानसिक तनाव दिन्छ, यस्तो घटना बाहिर आउन समय लाग्छ ।’
सञ्चारमाध्यामले उठान गर्ने बिषय, मानव अधिकार बिरुद्ध भएका घटनामा सञ्चार माध्यामले पु¥याउने आँखा र संञ्चारकर्मीको सक्रियताले अधिकार प्राप्तीमा सहयोग गरेको सहभागिको धारणा थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानव अधिकार रक्षाका लागि बागलुङ नगरपालिका सदैव जिम्मेबार रहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले विकासोन्मुख देशमा मानवअधिकार हननका घटना धेरै हुने गरेको भन्दै समुदायमा सचेतनाको खाँचो औल्याएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षता, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिकको स्वागत र सचिव बिजय रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राससका धौलागिरी संयोजक राम थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने अधिकारकर्मी सावित्री खड्कालगायतले बोलेका थिए ।





