शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पूर्वाधार निर्माण गर्दा दोहोरोपना हटाऔं : श्रेष्ठ

पूर्वाधार निर्माण गर्दा दोहोरोपना हटाऔं : श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७९, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ठूला पूर्वाधार निर्माण गर्दा दोहोरोपना नहुने गरी बनाउनु पर्ने बताएका छन् । उनले विकासे अड्डाहरुलाई नगरमा समन्वय गरेर काम गर्न आग्रह गरे ।

नगरपालिकको पूर्वाधार विकास समितिको बिषयगत छलफलमा आएका सडक, खानेपानी, सिंचाइ, पूर्वाधार तथा सघन सहरी कार्यालयका प्रमुखलाई श्रेष्ठले हरेक काममा समन्वय हुनुपर्ने बताएका हुन् । सोमबार भएको बिषयगत छलफलमा करोडौं खर्चने योजना बनाउँदा समयमा सकिने, नगरपालिकाको योजनामा दोहोरो पन नहुने गरी बनाउनु पर्ने सुझाए ।

‘एउटा संस्थाले काम गर्छ, अर्कोले खनेर भत्काउँछ यो प्रवृत्ति राम्रो होइन’ श्रेष्ठले भने, ‘हरेक तीन तीन महिनामा समन्वय बैठक बस्नु परे बसौं, तर काम गुणस्तरीय र जनताको पक्षमा हुनुपर्छ ।’
कार्यक्रममा उपप्रमुख राजु खड्काले पूर्वाधार बनाउँदा दिगो हुनुपर्ने बताए । उनले बर्षात्मा भत्कने सडक बनाउने, पानी पर्दा चुहिने भवन र बर्षौ सम्म शुद्ध पानी खानै नपाउने अवस्था अन्त्य गर्नुपर्ने धारणा
राखे । ‘बर्षमा थोरै योजना गरौं, तर पुरा गरेर छाडौं’ खड्काले भने, ‘अलपत्र पर्ने योजना देखाएर जनताको विश्वास जित्न सकिंदैन ।’ जनताको पक्षमा काम हुनुपर्नेमा कर्मचारीहरुले सामान्य व्यवहारिक पक्ष पनि नहेर्ने प्रवृत्ति बाधक भएको बताए ।

कार्यक्रममा सघन सहरी तथा भवन निर्माण कार्यालयकी प्रमुख सुनिता श्रेष्ठ, पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदी, खानेपानी तथा सरसफाइ डिभिजनका सूचना अधिकारी इश्वरी प्रसाद शर्मा, सडक डिभिजनका इन्जिनियर किरण पोखरेल, बिद्युत प्राधिकरणका प्रमुख प्रकाश काफ्ले, नेपाल टेलिकमका प्रमुख केशव शर्मा, सिंचाइ विकास डिभिजनका प्रमुख कुमार खड्का लगायतले आफ्ना बार्षिक, बहुबर्षे र दिर्घकालिन योजनाको जानकारी गराएका थिए । त्यसका लागि आउने बजेटलाई समन्वयात्मक रुपमा खर्च गर्दा दिगो विकास हुने नगरपालिकाको सुझाव अनुसार काम गर्ने पनि बताए ।

पूर्वाधार विकास कार्यालयका संयोजक छमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नियमित समन्वय गरेर बिषयगत कार्यालयको बिज्ञ सुझाव र सहयोग पनि लिने बताए । नगरपालिकामा भएको सिमित जनशक्तीले नपुग्दा डिभिजन कार्यालयको विज्ञ प्राविधिक टोलीबाट काम गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->